काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनले अमेरिकी निर्वाचनसम्बन्धी मतदाता तथ्याङ्कमा हस्तक्षेप गरेको आरोप लगाएपछि चीनले त्यसलाई पूर्ण रूपमा अस्वीकार गरेको छ। बेइजिङले ट्रम्पको दाबीलाई “कपोलकल्पित” र “दुर्भावनापूर्ण” भन्दै खण्डन गरेको हो।
‘मिडटर्म’ निर्वाचनको तयारी चलिरहेका बेला ट्रम्पले मतदाता ठगीसम्बन्धी आफ्नो पुरानो दाबीलाई पुनः दोहोर्याएका छन्। उनले बिहीबार ह्वाइट हाउसमा आयोजित सम्बोधनमा अमेरिकी निर्वाचन प्रणाली गम्भीर जोखिममा रहेको दाबी गर्दै मतदानसम्बन्धी नयाँ प्रतिबन्धात्मक कानुन ल्याउन अमेरिकी सांसदहरूलाई आग्रह गरेका थिए। यद्यपि, उनको आफ्नै रिपब्लिकन पार्टीभित्र पनि यस विषयमा उल्लेखनीय समर्थन देखिएको छैन।
ट्रम्पले चीनले अवैध रूपमा २२ करोड अमेरिकी मतदाताको फाइल प्राप्त गरेको देखाउने खुफिया जानकारी सार्वजनिक नगर्ने पनि बताएका छन्।
यस विषयमा प्रतिक्रिया दिँदै चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले अमेरिकी आरोपहरू पूर्ण रूपमा आधारहीन भएको बताए।
“अमेरिकी पक्षबाट गरिएका सम्बन्धित दाबीहरू पूर्ण रूपमा कपोलकल्पित र दुर्भावनापूर्ण आरोप हुन्, जुन पहिले नै आधारहीन साबित भइसकेका छन्,” उनले पत्रकार सम्मेलनमा भने। “चीनलाई अमेरिकी निर्वाचनमा कुनै चासो छैन र हामीले कहिल्यै कुनै प्रकारको हस्तक्षेप गरेका छैनौँ।”
उनले अन्तर्राष्ट्रिय समुदायले अन्य देशको आन्तरिक मामिलामा नियमित हस्तक्षेप गर्ने पक्ष को हो भन्ने स्पष्ट रूपमा देखिरहेको पनि टिप्पणी गरे।
लिनले अमेरिकालाई आफ्ना गतिविधिप्रति आत्मनिरीक्षण गर्न, चीनमाथि आधारहीन आरोप लगाउन बन्द गर्न तथा निर्वाचनसम्बन्धी विवादमा चीनलाई जोड्न नखोज्न आग्रह गरे। साथै, उनले चीन–अमेरिका सम्बन्धलाई सकारात्मक दिशामा अघि बढाउने वातावरण बनाउनुपर्नेमा जोड दिए।
यसअघि ट्रम्पले सन् २०२० को अमेरिकी राष्ट्रपति निर्वाचनमा व्यापक धाँधली भएको दाबी गर्दै आएका छन्। तर, उक्त दाबीलाई पुष्टि गर्ने कुनै प्रमाण सार्वजनिक भएको छैन। करिब ६० भन्दा बढी अदालतमा दायर भएका मुद्दामध्ये कुनै पनि अदालतले निर्वाचनको नतिजा परिवर्तन हुने खालको ठगी भएको निष्कर्ष निकालेको छैन। पुनःमतगणना, अडिट तथा ट्रम्पकै प्रशासनअन्तर्गतको न्याय विभागले समेत त्यस्तो कुनै प्रमाण फेला नपारेको जनाएको थियो।