काठमाडौं। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका छोरा जयवीरसिंह देउवामाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) सम्बन्धी अनुसन्धान अघि बढाएको छ। विभागले सार्वजनिक सूचना जारी गर्दै उहाँलाई सात दिनभित्र उपस्थित भई बयान दिन तथा आवश्यक कागजात र विवरण पेस गर्न निर्देशन दिएको हो।
सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा ४१ बमोजिम जारी सूचनामा डडेलधुराको साविक आसिग्राम गाउँ विकास समिति–५ स्थायी ठेगाना भई हाल काठमाडौंको बुढानीलकण्ठ बसोबास गर्ने ३१ वर्षीय जयवीरसिंह देउवालाई सूचना प्रकाशित भएको मितिबाट बाटोको म्यादबाहेक सात दिनभित्र ललितपुरको पुल्चोकस्थित विभागको कार्यालयमा उपस्थित हुन भनिएको छ।
विभागका निर्देशक तथा प्रवक्ता उत्तमकुमार घिमिरेका अनुसार अनुसन्धानका क्रममा आवश्यक विषयमा थप जानकारी लिनुपर्ने देखिएकाले जयवीरसिंह देउवालाई विभागमा उपस्थित हुन बोलाइएको हो।
विभाग स्रोतका अनुसार जयवीरसँग सम्बन्धित केही आर्थिक कारोबार, विभिन्न कम्पनीमा गरिएको लगानी तथा ती लगानीको स्रोतबारे लामो समयदेखि अनुसन्धान भइरहेको छ। अनुसन्धानका क्रममा केही वित्तीय कारोबारको स्रोत र प्रकृतिसम्बन्धी थप विवरण आवश्यक देखिएपछि औपचारिक रूपमा बयानका लागि बोलाइएको जनाइएको छ।
अनुसन्धानका क्रममा जयवीरको नाममा रहेका केही व्यावसायिक कम्पनी र त्यसमा गरिएको लगानीको स्रोतबारे पनि विभागले अध्ययन गरिरहेको छ। साथै, विवादास्पद व्यवसायी दीपक भट्टसँग रहेको भनिएको व्यावसायिक सम्बन्धबारे समेत अनुसन्धान भइरहेको स्रोतले जनाएको छ। सोही प्रकरणमा व्यवसायी दीपक भट्ट र उनका साझेदार सुलभ अग्रवाल हाल पुर्पक्षका लागि थुनामा रहेका छन्।
विभागले यसअघि पनि जयवीरसिंह देउवासँग सम्पर्क गर्ने प्रयास गरेको भए पनि उहाँ विदेशमा रहेको र सम्पर्क हुन नसकेपछि सार्वजनिक सूचना जारी गर्नुपरेको जनाएको छ।
तोकिएको अवधिभित्र विभागमा उपस्थित नभए प्रचलित कानुनअनुसार आवश्यक कानुनी प्रक्रिया अघि बढाइने विभागले स्पष्ट गरेको छ।