२०८३ साउन ९ शनिबार

बनेपाको सेल्फीडाँडामा बस दुर्घटना: ८ जनाको मृत्यु, चार मृतकको पहिचान खुल्यो

ई आर्थिक    शनिबार, जेष्ठ ३० २०८३
912
Shares
बनेपाको सेल्फीडाँडामा बस दुर्घटना: ८ जनाको मृत्यु, चार मृतकको पहिचान खुल्यो

काभ्रेपलाञ्चोक : विपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ स्थित सेल्फीडाँडामा भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये चार जनाको पहिचान खुलेको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायव उपरीक्षक रबिन बिष्टका अनुसार हालसम्म रोशी गाउँपालिका–७ की ३४ वर्षीया फुलमाया तामाङ, रोशी–६ का ७५ वर्षीय सवारीधनी इन्द्रबहादुर झाक्री, रोशी–८ की ६० वर्षीया प्यारीमाया तामाङ र दैलेख घर भएका नेपाली सेनाका अमल्दार ३० वर्षीय बमबहादुर भण्डारीको पहिचान भएको छ।

प्रहरीका अनुसार अन्य चार मृतकको पहिचान अझै खुल्न बाँकी छ।

दुर्घटनामा घाइते भएकामध्ये रोशी गाउँपालिका–८ की २२ वर्षीया एनिशा तामाङ, रोशी–६ की २० वर्षीया विष्णु डोल्मो तामाङ, धनबहादुर तामाङ, ३० वर्षीय चन्द्र तामाङ, १८ वर्षीया रमिता वाइवा, ४० वर्षीय मनब तामाङ तथा रोशी–७ का ६० वर्षीय डम्बरबहादुर शाह रहेका छन्।

त्यसैगरी रोशी–८ का ४३ वर्षीय कृष्णबहादुर तामाङ, बर्दियाको बारबर्दिया नगरपालिका–१२ का २५ वर्षीय सुरेशबहादुर वादी, बनेपा नगरपालिका–३ का ३४ वर्षीय घोया सिंह तामाङ तथा रोशी–२ की ६२ वर्षीया विष्णुमाया लामा पनि घाइते भएका छन्।

प्रहरीका अनुसार घाइतेमध्ये तेमाल गाउँपालिका–८ का ४३ वर्षीय मनुराज तामाङ, ‘सुबास’ नाम बताउने करिब ६ वर्षीय बालक, नाम नखुलेकी करिब १ वर्षीया बालिका, करिब ६२ वर्षीय एक पुरुष तथा करिब २२ वर्षीया एक महिलाको पहिचान अझै खुल्न सकेको छैन।

धुलिखेल अस्पतालका अनुसार अधिकांश घाइतेको टाउको, घाँटी र छातीमा चोट लागेको छ। घाइते डम्बरबहादुर शाह र पहिचान नखुलेका एक पुरुषको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ।

दुर्घटनापछि श्रीमेहर गण धुलिखेल, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नम्बर १५ गण हेडक्वार्टर पाँचखालका विपद् तालिमप्राप्त सुरक्षाकर्मी तथा स्थानीयवासीको सहयोगमा उद्धार गरी घाइतेहरूलाई उपचारका लागि अस्पताल पुर्‍याइएको थियो।

शुक्रबार दिउँसो करिब २:१५ बजे बनेपाबाट रोशी गाउँपालिका–६ स्थित सुँगुरेतर्फ जाँदै गरेको पूर्व अरनिको यातायातको बा ३ ख ८३९८ नम्बरको बस सेल्फीडाँडामा दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij