काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहसहित ७ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार गलत विवरण पेस गरी अर्काको छोरीलाई आफ्नी छोरीका रूपमा देखाई नागरिकता दिलाइएको घटनासम्बन्धी उजुरीमाथि अनुसन्धान गर्दा अनियमितता भएको पुष्टि भएको हो।
अनुसन्धानअनुसार मेयर सिंहले वीरगंज–३ का तत्कालीन वडा सचिव भिखारी राय र तत्कालीन वडा सदस्य तथा कार्यवाहक वडा अध्यक्ष तुफैल अख्तर ठकुराईसँग मिलेमतो गरी भट्टराई थरकी महिलाको छोरीलाई “रुविना श्रेष्ठ” नाममा आफ्नी छोरी भनी झुटो विवरण तयार गराएको आरोप छ।
सोही आधारमा २०७१ सालमा जन्मदर्ता प्रमाणपत्र तयार गरी २०७५ सालमा जिल्ला प्रशासन कार्यालय पर्साबाट नागरिकता समेत जारी गरिएको आयोगले जनाएको छ।
त्यसैगरी, जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन प्रशासकीय अधिकृत षड कुमार पोख्रेलले समेत उक्त प्रक्रियामा भूमिका खेलेको आरोप लगाइएको छ।
गृह मन्त्रालयद्वारा गठित छानबिन समितिका तत्कालीन संयोजक पुष्कर राना र सदस्य पर्शुराम पोखरेलले वास्तविक तथ्य लुकाउँदै गलत प्रतिवेदन तयार गरेको तथा अनियमितता ढाकछोप गरेको भन्दै उनीहरूलाई पनि आरोपपत्रमा समावेश गरिएको छ।
आयोगले सबै प्रतिवादीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार विभिन्न दफाअन्तर्गत कैद र जरिवानाको मागदाबी लिँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।
अख्तियारले उक्त कार्यमा संलग्न सबैलाई कानुनअनुसार कारबाही हुनुपर्ने माग गरेको छ।