२०८३ साउन १२ मंगलबार

मोदी–लामिछाने भेट: ‘नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक’

ई आर्थिक    बुधबार, जेष्ठ २० २०८३
1.4K
Shares
मोदी–लामिछाने भेट: ‘नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक’

रबि–मोदी भेट

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको नयाँ सरकारसँग सहकार्य गर्न भारत उत्सुक रहेको बताउनुभएको छ। भारतको राजधानी नयाँदिल्लीमा बुधबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसँग भएको भेटवार्ताका क्रममा प्रधानमन्त्री मोदीले नेपाल भारतको ‘प्राथमिकतामा रहेको साझेदार मुलुक’ भएको उल्लेख गर्नुभयो।

भेटपछि सामाजिक सञ्जाल एक्समार्फत प्रतिक्रिया दिँदै प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन भारत प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले ‘छिमेकी पहिलो’ नीतिअन्तर्गत नेपाललाई विशेष प्राथमिकतामा राखिएको उल्लेख गर्दै नयाँ सरकारसँग मिलेर काम गर्न उत्सुक रहेको जनाउनुभयो।

मोदीले नेपाली भाषामै लेख्नुभएको सन्देशमा भन्नुभएको छ, “नेपालको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति श्री रवि लामिछानेज्यूसँग भेट्न पाउँदा अत्यन्तै खुशी लागेको छ। साझा र समृद्ध भविष्यका लागि मिलेर काम गर्ने उहाँको चाहनालाई म स्वागत गर्दछु र त्यसमा पूर्ण रूपमा सहमत छु।”

उहाँले नेपाल–भारतबीचको विशिष्ट र बहुआयामिक सम्बन्धलाई अझ सुदृढ बनाउन दुवै देशले सहकार्यलाई निरन्तरता दिने विश्वास व्यक्त गर्नुभयो।

नयाँदिल्लीमा भएको उक्त उच्चस्तरीय भेटवार्तामा भारतीय पक्षबाट विदेशमन्त्री एस. जयशङ्कर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिश्रीलगायत उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नेपाली टोलीका तर्फबाट सभापति लामिछानेसँगै उहाँकी धर्मपत्नी निकिता पौडेल, रास्वपाका सहमहामन्त्री विपिन आचार्य, सचिवालय सदस्य दीपक बोहरा तथा स्वकीय सचिव प्रदीप आचार्य सहभागी हुनुहुन्थ्यो। वार्तामा भारतका लागि नेपालका कार्यवाहक राजदूत सुरेन्द्र थापाको पनि उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij