काठमाडौं । सङ्घीय संसद्को प्रतिनिधि सभामा आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमाथि आजदेखि छलफल सुरु हुने भएको छ।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार आज सोमबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको सोह्रौँ बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
गत जेठ १५ गते अर्थमन्त्री वाग्लेले सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका थिए। सोही बजेटमाथि आजदेखि प्रतिनिधि सभामा सांसदहरूले आफ्नो धारणा राख्दै छलफलमा सहभागी हुने कार्यसूची तय गरिएको छ।
सरकारले प्रस्तुत गरेको बजेटका विभिन्न पक्ष, प्राथमिकता, कार्यक्रम तथा स्रोत व्यवस्थापनका विषयमा सांसदहरूले आफ्नो धारणा राख्ने अपेक्षा गरिएको छ। बजेटमाथिको सामान्य छलफल केही दिनसम्म चल्ने र त्यसपछि विभिन्न मन्त्रालयगत शीर्षकमाथि विस्तृत छलफल हुने संसदीय प्रक्रिया रहेको छ।
आर्थिक वर्ष २०८३/०८४ का लागि सरकारले प्रस्तुत गरेको बजेटले आर्थिक वृद्धि, रोजगारी सिर्जना, पूर्वाधार विकास तथा निजी क्षेत्रको प्रवर्द्धनलाई प्राथमिकतामा राखेको जनाएको छ।