२०८३ भाद्र २९ सोमबार

हरितालिका तीज : पशुपतिमा भक्तजनको घुइँचो, सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधि प्रयोग

ई आर्थिक    सोमबार, भाद्र २९ २०८३
171
Shares
हरितालिका तीज : पशुपतिमा भक्तजनको घुइँचो, सुरक्षा व्यवस्थापनलाई प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधि प्रयोग

काठमाडौं । हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने महिला व्रतालु भक्तजनको बिहानैदेखि घुइँचो लागेको छ।

पशुपतिनाथ क्षेत्रमा तीजका अवसरमा सुरक्षा अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी उपरीक्षक दानबहादुर थापाका अनुसार भक्तजनको सहज दर्शनका लागि बिहान ३ः१५ बजेदेखि मन्दिरका चारवटै ढोका खुला गरिएको थियो।

उनका अनुसार बिहान ७ बजेसम्म करिब ९ हजार दर्शनार्थीले पशुपतिनाथको दर्शन गरिसकेका छन्। त्यतिबेला करिब ३ हजार दर्शनार्थी दर्शनका लागि लाइनमा रहेका थिए।

भक्तजनको सुरक्षासँगै दर्शन सहजीकरणका लागि प्रहरीले सूचना प्रवाह, खोज तथा उद्धार, परिवार पुनर्मिलन, स्वास्थ्य शिविर र ट्राफिक व्यवस्थापनलगायतका सेवा सञ्चालन गरिरहेको छ।

सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन सीसीटीभी, ड्रोन तथा सञ्चार प्रविधि प्रयोग गरिएको प्रहरीले जनाएको छ। त्यस्तै, सादा पोसाकका प्रहरीसहित महिला, पुरुष तथा विपद् उद्धार प्रहरी परिचालन गरिएको छ।

तीजको भीडलाई लक्षित गर्दै पशुपति क्षेत्रमा दुई सिफ्टमा २ हजार ५०० भन्दा बढी प्रहरी परिचालन गरिएको छ। प्रत्येक सिफ्टमा करिब १ हजार २५० प्रहरी सुरक्षाका लागि खटिएका छन्।

प्रहरीले भक्तजनलाई निर्धारित लाइन र सुरक्षा निर्देशनको पालना गरी सहज रूपमा दर्शन गर्न तथा कुनै समस्या परेमा सुरक्षाकर्मीलाई तत्काल जानकारी गराउन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij