काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ५.७ प्रतिशतले वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका अनुसार समीक्षा अवधिमा निजी क्षेत्रतर्फ ३ खर्ब ११ अर्ब ९५ करोड रुपैयाँ थप कर्जा प्रवाह भएसँगै कुल कर्जा प्रवाह ५८ खर्ब ९ अर्ब ६६ करोड रुपैयाँ पुगेको छ।
अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो कर्जा ७.१ प्रतिशत अर्थात् ३ खर्ब ६१ अर्ब ३ करोड रुपैयाँले बढेको थियो। वार्षिक विन्दुगत आधारमा भने २०८२ चैत मसान्तसम्म निजी क्षेत्रतर्फको कर्जा प्रवाह ६.९ प्रतिशतले वृद्धि भएको छ।
राष्ट्र बैंकका अनुसार कुल कर्जामध्ये ६३.३ प्रतिशत कर्जा गैर–वित्तीय संस्थागत क्षेत्रमा प्रवाह भएको छ भने ३६.७ प्रतिशत कर्जा व्यक्तिगत तथा घरपरिवार क्षेत्रमा गएको छ। अघिल्लो वर्ष पनि यस्तो अनुपात लगभग समान रहेको थियो।
समीक्षा अवधिमा वाणिज्य बैंकहरूको कर्जा प्रवाह ५.८ प्रतिशतले बढेको छ। विकास बैंकहरूको कर्जा ५.१ प्रतिशत तथा वित्त कम्पनीहरूको कर्जा २.६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ।
कर्जाको धितो संरचनामा घरजग्गाको हिस्सा अझै उच्च देखिएको छ। २०८२ चैत मसान्तसम्म बैंक तथा वित्तीय संस्थाको कुल कर्जामध्ये ६३.४ प्रतिशत घरजग्गा धितोमा आधारित रहेको छ भने १४.९ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) सुरक्षणमा प्रवाह भएको छ।
क्षेत्रगत रूपमा हेर्दा उपभोग्य क्षेत्रमा प्रवाहित कर्जा सबैभन्दा धेरै ११.७ प्रतिशतले बढेको छ। निर्माण क्षेत्रमा १०.७ प्रतिशत, यातायात, सञ्चार तथा सार्वजनिक सेवा क्षेत्रमा १०.१ प्रतिशत, औद्योगिक उत्पादन क्षेत्रमा ६.५ प्रतिशत, वित्त, बीमा तथा अचल सम्पत्ति क्षेत्रमा ५.७ प्रतिशत तथा सेवा उद्योग क्षेत्रमा ३.१ प्रतिशतले कर्जा वृद्धि भएको छ।
तर कृषि क्षेत्रमा प्रवाहित कर्जा भने २.३ प्रतिशतले घटेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ।
त्यस्तै, कर्जाका प्रकृतिअनुसार ट्रष्ट रिसिट (आयात) कर्जा ३२ प्रतिशतले वृद्धि भएको छ। मार्जिन प्रकृतिको कर्जा १३.४ प्रतिशत, हायर पर्चेज कर्जा ८.५ प्रतिशत, रियल स्टेट कर्जा ४.६ प्रतिशत, माग तथा अन्य चालु पुँजी कर्जा ४.३ प्रतिशत, आवधिक कर्जा ३.७ प्रतिशत, क्यास क्रेडिट कर्जा २.८ प्रतिशत तथा अधिविकर्ष कर्जा ०.३ प्रतिशतले बढेको छ।