काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मातहतका विभाग तथा कार्यालयका सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीहरूको विवरण सार्वजनिक गरेको छ।
मन्त्रालयका अनुसार देशभरका मालपोत र नापी विभाग तथा कार्यालयका सम्बन्धित अधिकारीको मोबाइल नम्बर र इमेल सार्वजनिक गरिएको छ। नागरिकलाई सहज सूचना पहुँच उपलब्ध गराउने उद्देश्यले कार्यालयबाट हुने सेवा तथा भूमि सम्बन्धी समस्याहरू तत्काल जानकारी गराउन गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिएको छ।
गुनासो सुन्ने अधिकारीका मोबाइल नम्बर र इमेल ठेगानासहित सम्पर्क विवरण सार्वजनिक गरिएको छ। साथै, सबै कार्यालय प्रमुखहरूलाई सूचना प्रभाव र गुनासो व्यवस्थापनलाई सक्रिय बनाउन निर्देशन दिइएको छ। मातहतका अधिकारीहरूलाई कार्यालय समयमा अनिवार्य रूपमा फोन उठाउने जिम्मेवारी पनि दिइएको छ।
यससँगै नागरिकहरूले मालपोत र नापी सम्बन्धी सेवा तथा गुनासो प्रक्रिया सहज र छिटो रूपमा प्रयोग गर्न सक्ने विश्वास व्यक्त गरिएको छ।

