काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय, जुम्लामा सवारी चालक अनुमतिपत्र वितरणमा गम्भीर अनियमितता गरेको अभियोगमा ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार विसं २०७५ मा वर्ग ‘A’ र ‘K’ का सवारी चालक अनुमतिपत्रको लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन गर्दा कार्यालयको भौतिक क्षमता र जनशक्तिभन्दा अत्यधिक तथा अस्वाभाविक संख्यामा परीक्षार्थी सहभागी गराइएको पाइएको छ। तीन दिनको अवधिमा २ हजार २०६ जनाको प्रयोगात्मक परीक्षा लिएको देखाइए पनि यो सम्भव नरहेको अख्तियारको निष्कर्ष छ।
अनुसन्धानमा परीक्षामा सहभागी नभएकालाई सहभागी देखाउने, फेल तथा अनुपस्थित परीक्षार्थीलाई पास बनाउने, एउटै रजिस्ट्रेसन नम्बरमा दुई जनालाई परीक्षा दिन लगाउने, एउटै परीक्षार्थीको दुईवटा उत्तरपुस्तिका फेला पर्ने, उत्तरपुस्तिकामा अनधिकृत टिप्पणी लेख्ने तथा नतिजा कम्प्युटर प्रणालीमै सच्याउनेजस्ता गम्भीर बदनियत पुष्टि भएको आयोगले जनाएको छ।
अख्तियारका अनुसार तत्कालीन निमित्त कार्यालय प्रमुख मदन प्रसाद देवकोटा, मेकानिकल सुपरभाइजर शम्भु दाहाल, नायब सुब्बा धनसिंह थापा, कम्प्युटर अपरेटर जागेश्वर थारु, खरिदार मिलन बुढथापा तथा तत्कालीन प्रहरी नायव निरीक्षक गंगाराम विक (विश्वकर्मा) ले आपसी मिलेमतोमा परीक्षा परिणाम हेरफेर गरी गैरकानुनी रूपमा सवारी चालक अनुमतिपत्र जारी गरेका थिए।
उनीहरूविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ११ र १३ अनुसार कैद तथा जरिवाना सजाय मागदाबी गर्दै आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिएका छन्।