काठमाडौं । नेपाली सेनाले आजदेखि देशभरका निर्वाचन सुरक्षाका लागि आफ्नो जनशक्ति परिचालन गरेको छ। सेनाका सहायक रथी राजाराम बस्नेतका अनुसार, कुल ७९ हजार सैनिक जनशक्ति निर्वाचन सुरक्षामा खटाइएको छ।
आजदेखि नै सेनाले देशभरका विमानस्थल र कारागार कार्यालयको सुरक्षा व्यवस्थापनको जिम्मेवारी सम्हाल्नेछ। यी स्थानमा नियमित रुपमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको विशेष ड्युटी जारी रहनेछ भने बाँकी सुरक्षा जिम्मेवारी सेना सम्हाल्नेछ।
प्रवक्ता बस्नेतले भनेका छन् कि प्रमुख सडकहरूमा सेना आजैबाट गस्ती सुरु गरिसकेको छ। विभिन्न स्थानमा सुरक्षा बेस बनाएर पैदल गस्ती सुरु गरिएको छ। मतदान केन्द्र र मतगणना स्थलमा केही समयपछि मात्रै सेना परिचालित हुनेछ। त्यहाँ नेपाल प्रहरी पहिलो र सशस्त्र प्रहरी दोस्रो सुरक्षा घेरामा तैनाथ हुनेछन्। त्यसपछि मात्र सेनाले सुरक्षा जिम्मेवारी लिनेछ।
मंसिर ८ गते मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षाका लागि सेनालाई परिचालन गर्न राष्ट्रपतिलाई आग्रह गर्ने निर्णय गरेको थियो। राष्ट्रपति रामचन्द्र पौडेलको स्वीकृति पाएपछि सेना परिचालन सुरु भएको हो।