वीरगंज । पर्सा जिल्लाको सुरक्षा अवस्थालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय पर्साले वीरगंज महानगरपालिकाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालद्वारा जारी आदेशअनुसार जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा मिति २०८२ साल पुस २१ गते दिउँसो १ बजेदेखि अर्को आदेश नआएसम्म निषेधाज्ञा लागू गरिएको हो। निषेधाज्ञा लागू भएका क्षेत्रमा कुनै पनि किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाइने प्रशासनले जनाएको छ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३क) अनुसार जारी गरिएको उक्त आदेश उल्लंघन गर्ने जो–कोहीलाई नियन्त्रणमा लिएर कानुन बमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ।
प्रशासनका अनुसार निषेधाज्ञा लागू हुने क्षेत्रहरूमा बसपार्क, सिर्सिया पुल, पावर हाउस चोक र शंकराचार्य गेट आसपासका क्षेत्रहरू समावेश छन्।
जिल्ला प्रशासन कार्यालयले शान्ति सुरक्षा कायम गर्न सर्वसाधारणलाई सहयोग गर्न आग्रह गरेको छ।
वीरगञ्जमा हिन्दु तथा मुस्लिमहरु बीच मुठभेड नहोस् भनेर जिल्ला प्रशासनले निषेधाज्ञा जारी गरेको हो । हिन्दु समुदायले मस्जिदमा तोडफोड र आगजनीजस्ता घटनापछि आइतबार मुस्लिम समुदायले प्रदर्शन गरेको थियो भने, मन्दिर तथा देवी–देवतामाथि आपत्तिजनक टिप्पणी भएको आरोप लगाउँदै सोमबार बिहानदेखि हिन्दुवादी समूहहरू पनि सडकमा उत्रिएका थिए।
यही क्रममा आज बिहान १० बजे वीरगञ्जमा पुनः हिन्दुवादी संगठनहरूले प्रदर्शन गरेपछि दुवै पक्षको गतिविधिलाई मध्यनजर गर्दै प्रशासनले निषेधाज्ञा लागू गरेको प्रजिअ दाहालले जानकारी दिए। प्रशासनका अनुसार उत्पन्न विवादलाई शान्तिपूर्ण रूपमा समाधान गर्न वार्ताको प्रयास जारी छ।
