काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको बित्थडचिर गाउँपालिका वडा नं. १ स्थित बित्थड खेल मैदान निर्माणमा दोहोरो भुक्तानी भएको प्रकरणमा आरोपपत्र दायर गरेको छ।
अनुसन्धानबाट तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत चक्रदेव भट्ट, सब-इन्जिनियर गणेश राज उपाध्याय, लेखापाल हर्क देव जोशी, साथै बित्थड खेल मैदान निर्माण तथा सुधार उपभोक्ता समितिका अध्यक्ष दिपेन्द्र बहादुर बोहरा, सचिव वीर बहादुर बोहरा र कोषाध्यक्ष निलम भण्डारीमाथि कुल १४ लाख ६६ हजार रुपैयाँभन्दा बढी रकमको भ्रष्टाचार गरेको देखिएको छ।
अख्तियारका अनुसार ठेकेदार र उपभोक्ता समितिले पूर्वनिर्धारित लागत अनुमान तथा Measurement Book अनुसार नभई एउटै कामको लागि फरक-फरक कागजात बनाई, दोहोरो भुक्तानी गरी गैरकानूनी लाभ लिएका थिए। आयोगले आरोपपत्र बिशेष अदालत, काठमाडौंमा दायर गरेको जनाएको छ।
सहायक प्रवक्ता गणेश बहादुर अधिकारीका अनुसार आरोपपत्रमा सम्बद्ध व्यक्तिहरूलाई भ्रष्टाचार निवारण ऐन, २०५९ अनुसार सजाय र बिगो असुल गर्न माग गरिएको छ।