२०८३ साउन ९ शनिबार

झुट्टा नक्सा बनाएर बैंक ऋण: बेलडाँडीका कर्मचारी र जग्गाधनीसहित चार जनाविरुद्ध मुद्दा दर्ता

ई आर्थिक    बिहिबार, मंसिर २५ २०८२
2.9K
Shares
झुट्टा नक्सा बनाएर बैंक ऋण: बेलडाँडीका कर्मचारी र जग्गाधनीसहित चार जनाविरुद्ध  मुद्दा दर्ता

  ई-आर्थिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा घर नबनाई झुट्टा नक्सा पास गराई बैंकबाट ठूलो रकम ऋण निकालेको अभियोगमा चार जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको छ।

आयोगका अनुसार बेलडाँडी–२ की शान्ती नाथले घर नभएको जग्गामा पक्की भवन रहेको भन्दै नक्सा तयार गराई लक्ष्मी सनराइज बैंकबाट दुईपटक मिलेर ३३ लाख ७५ हजार रुपैयाँ ऋण लिएकी थिइन्। यो कार्यमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पदमराज जोशी, सब–इन्जिनियर जय कुँवर र असिस्टेन्ट सब–इन्जिनियर तेजबहादुर सुनार समेत संलग्न रहेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ।

आयोगले स्थलगत अवलोकन र नापी कार्यालयको प्रतिवेदनमा सो जग्गामा कुनै पनि पक्की संरचना नभएको स्पष्ट प्रमाणित भएको बताएको छ। यद्यपि गाउँपालिकाले सोही जग्गामा रहेको भनिएको तीनतले पक्की भवनको नक्सा अभिलेखीकरण गरी घर प्रमाणित गरेको पाइएपछि उनीहरूबीच मिलेमतो रहेको ठहर गरिएको हो।

झुट्टा कागजात तयार पारेर ऋण लिन सहयोग पुर्‍याएको भन्दै तिनै कर्मचारी तथा जग्गाधनी नाथविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ का विभिन्न दफाअनुसार सजायको माग गर्दै आज विशेष अदालतमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।

आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीद्वारा जारी विज्ञप्तिमा सो प्रकरणमा संलग्न सबैलाई कानुनअनुसार कारबाही गर्न माग गरिएको उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij