लिखित जवाफको अंशसहित
काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले संसद पुनर्स्थापनाको मागसहित सर्वोच्च अदालतमा दायर रिटमा आफ्नो लिखित जवाफ पेश गरेका छन्। मंगलबार बुझाएको जवाफमा उनले भदौ २३ र २४ गते भएका आगजनी र अराजकताका वास्तविक लाभग्राही वर्तमान प्रधानमन्त्री सुशीला कार्की र उनका मन्त्रिपरिषदका सदस्य भएको आरोप लगाएका छन्। उनका अनुसार यी घटनामार्फत राज्यसत्ता कब्जा गर्ने ‘दृश्य/अदृश्य’ प्रयत्न स्वयं वर्तमान नेतृत्वबाटै भएको हो ।
पूर्व महान्याधिवक्ता रमेश बडालले सार्वजनिक गरेको जवाफअनुसार, संविधानको बफादार रहने सपथ गरेको एक घण्टामै प्रधानमन्त्री कार्कीले संसद विघटन गर्दै संविधान विपरीत कार्य गरेको ओलीको दाबी छ। उनले धारा ७६ बमोजिम राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गर्नुपर्नेमा संविधानविपरीत सर्वोच्चका पूर्वप्रधानन्यायाधीश कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको उल्लेख गरेका छन्।
ओलीको लिखित जवाफमा भनिएको छ—“पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गर्नु संविधानको ठाडो उल्लंघन हो।” उनले प्रतिनिधिसभा विघटनका लागि मन्त्रिपरिषदको सिफारिस अनिवार्य भए पनि कार्कीले मन्त्रिपरिषद गठन नै नगरिकन एकल निर्णयमा सिफारिस गरेको दाबी गरेका छन्। “प्रधानमन्त्री मात्रले मन्त्रिपरिषदको स्वरूप ग्रहण गर्न सक्दैन,” ओलीको जवाफमा उल्लेख छ।
यस्तै, उनले संविधानले निर्वाचनमार्फत मात्र सरकार परिवर्तन मान्य गरेको स्मरण कराउँदै अन्य दबाब वा प्रभावमा सरकार अपदस्त गर्न मिल्दैन भनेका छन्। उनका अनुसार मतादेशबिहीन व्यक्तिले सरकार सञ्चालन गर्नु संविधानविपरीत छ।
ओलीले सर्वोच्च अदालतमा बुझाएको लिखित जवाफमा कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन दुवै असंवैधानिक भएको दाबी गर्दै ती निर्णय बदर गरी संसद पुनर्स्थापना गर्न माग राखिएको छ।
सुशीला कार्कीको नियुक्ति र प्रतिनिधिसभा विघटन असंवैधानिक रहेको दाबी गर्दै अधिवक्ता युवराज सफल र शेरबहादुर रोकायाले दायर गरेको रिटमा सर्वोच्च अदालतले तत्कालीन प्रधानमन्त्री ओलीसँग लिखित स्पष्टीकरण माग गरेको थियो।
ओलीले सर्वोच्च अदालतमा पेश गरेको लिखित जवाफको अंश :
– मिति २०८२/०५/२३ र २४ गते मुलुकमा भएको अराजक तथा असामान्य अवस्थालाई सामान्यीकरण गर्ने र सम्वैधानिक प्रक्रियालाई अगाडि बढाई नया सरकार गठन गर्न सकियोस् भन्ने उद्देश्यले मैले प्रधानमन्त्री पदबाट राजीनामा दिएको थिए । मैले प्रधानमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएपछि संविधानको धारा ७६ बमोजिम नयाँ सरकार गठनको लागि राष्ट्रपतिबाट आह्वान नगरी पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्ति गर्ने कार्य नेपालको संविधानको धारा ७६ को ठाडो उल्लघंन हो ।
– प्रतिनिधिसभामा बहुमत सिद्ध गर्न सक्ने प्रतिनिधिसभा सदस्यलाई मात्र प्रधानमन्त्री नियुक्त गर्नुपर्नेमा प्रतिनिधिसभा जिवित हुँदाको बखतमा नै सुशीला कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्ने कार्य संविधानवाद र संवैधानिक सर्वोच्चताको सिद्धान्त विपरीत छ ।
– प्रधानमन्त्री नियुक्ति सम्बन्धमा मिति २०८२ भदौ २७ गते शुक्रबार राष्ट्रपतिको कार्यालयबाट जारी विज्ञप्तिमा सुशीला कार्कीलाई संविधानको कुन व्यवस्था बमोजिम प्रधानमन्त्री नियुक्त गरेको भन्ने उल्लेख छैन र सपथ ग्रहणको धारा मात्र उल्लेख हुँदैमा नियुक्तिले वैधता पाउँदैन ।
– राष्ट्रपतिलाई सुम्पिएको संवैधानिक प्रतिबन्धात्मक व्यवस्था संविधानमा छैन । यस्तो शव्दावलीले नै प्रधानमन्त्री नियुक्ति असंवैधानिक तवरबाट भएको देखिन्छ ।
– प्रधानमन्त्री शुसिला कार्किको नियुक्तिमा प्रधानमन्त्रीको सिफारिशमा भन्ने शब्दावली आफैँमातथ्य हिन छ । सो दिन म नेपालको कामचलाऊ प्रधानमन्त्री थिए । मैले सुशिला कार्कीलाई नियुक्त गर्नु भनी कुनै सिफारिस वा सम्मति दिएको थिएन र छैन ।
– मैले असामान्य अवस्थालाई सीमान्तीकृत गर्ने गरी मिती २०८२ भाद्र २३ र २४ गतेको घटनावाट सृजित विषम तथा असामान्य परिस्थितिलाई नेपालको संविधान तथा लोकतान्त्रिक प्रणाली अन्तरगत उपयुक्त निकासको लागी संविधान बमोजिम आवश्यक कदम चाल्न सम्माननीय राष्ट्रपति समक्ष गरेको सिफारिसलाई मेरो सिफारिसमा प्रधानमन्त्रीमा शुसिला कार्कीको नियुक्ति भन्नु आफैँमा तथ्यको गलत उल्लेख भएको देखिन्छ ।
– संविधानको धारा १३२(२)ले सर्वोच्च अदालतको प्रधान न्यायाधीश वा न्यायाधीश भई सकेको व्यक्ति सरकारी पदमा नियुक्ति हुन नपाउने व्यवस्था विपरित २०७३ आषाढ देखि २०७४ जेष्ठ सम्म प्रधान न्यायाधिश भएकी श्री सुशीला कार्कीको नियुक्ति असम्वैधानिक छ । न्यायालयलाई स्वतन्त्र, निष्पक्ष र कसैको दवाव र प्रभावमा पर्न नदिन गरिएको संवैधानिक व्यवस्थाको ठाडो उल्लंघन गरी न्यायालयलाई प्रलोभनमा पार्ने र निर्देशित न्यायालय वनाउने उद्देश्य यसमा अन्तरनिहित रहेको छ ।
– नेपालको संविधानको धारा ६६(२) मा राष्ट्रपतिवाट सम्पादन गरिने कार्य मन्त्रिपरिषदको सिफारिस र सम्मतिबाट हुनेछ र यस्तो सिफारिस र सम्मति प्रधानमन्त्रीमार्फत पेश हुनेछ भन्ने उल्लेख भएकोमा प्रतिनिधिसभा विघटनको सिफारिश गर्दा सुशिला कार्की प्रधानमन्त्री नियुक्त भएपनि मन्त्री परिषद गठन नहुँदै गरिएको सिफारिस असंवैधानिक छ ।
– नेपालको संविधानको धारा ७६ मा प्रधानमन्त्री नियुक्ति र मन्त्रिपरिषद गठन भन्ने छुट्टै दुई पदावली उल्लेख छ । धारा ७६ को उपधारा १ देखि ८ सम्म प्रधानमन्त्री नियुक्तिको प्रकृया र उपधारा -९ मा मन्त्रिपरिषदको गठनबारे उल्लेख छ । मन्त्रिपरिषद् भनेको र प्रधानमन्त्री भएको एउटै हैन ।
– संविधानको धारा ७५(१) बमोजिम नेपालको कार्यकारिणी अधिकार मन्त्रिपरिषदमा रहन्छ । प्रधानमन्त्री मात्रले मन्त्री परिषदको स्वरुप ग्रहण गर्न सक्दैन । मन्त्री परिषद गठन नै नहुँदै प्रधानमन्त्रीबाट भएको एकल सिफारिसलाई धारा ६६(२) बमोजिम मन्त्रिपरिषदको सल्लाह र सम्मति मान्न मिल्दैन ।
– प्रधानमन्त्री श्री सुशीला कार्कीले मिति २०८२ भाद्र २७ गते राति ९:४० बजे गर्नु भएको शपथ ग्रहणमा नेपालको संविधानप्रति पूर्ण वफादार रही काम गर्ने सपथ ग्रहण गरेको एक घण्टा भित्रै संविधान विपरित प्रतिनिधिसभा विघटनको भएको र आफ्नो सपथ ग्रहणको पालना नगर्ने व्यक्तिले प्रधानमन्त्रीको हैसियतले काम गर्न असक्षम रहेको स्पष्ट छ ।
– अराजक अवस्थाका लाभग्राही नै यस अवस्था सृजनाकर्ता हुन भन्ने स्पष्ट छ । नेपालको सार्वभौमसत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रहने र यसको प्रयोग सम्विधान बमोजिम हुनेमा अराजक अवस्थाको सृजना गराई सुशिला कार्की तथा निजको मन्त्रिमण्डलका सदस्यहरुले राज्य सत्ता कब्जा गर्ने दृष्य अदृष्य कार्य गरेको कुरा श्रृजित घटनाक्रमबाट पुष्टि भएको छ ।
– अराजकतालाई मात्रै आधार मानेर नेपालको शासन कुनै व्यक्ति तथा तिनको समूहले कब्जामा लिने कार्यलाई धारा ५ मा उल्लेखित राष्ट्रिय हित विपरितको कार्य हो भन्ने स्पष्ट छ ।
– सम्माननीय राष्ट्रपतिज्युले मिति २०८२/०५/२८ गते जारी गर्नु भएको प्रेस वक्तव्यमा बढो जुक्तिले प्राप्त अवसरको सदुपयोग गर्दै जनता रिझाउनु भनि दिएको अभिव्यक्ति वाटै राष्ट्रपतिलाई असंवैधानिक तवरले वाध्य बनाई प्रधानमन्त्री पदमा सुशिला कार्किको नियुक्ति गरिएको र निजले नै र प्रतिनिधिसभा विघटन गराएको देखियो ।
– जननिर्वाचित सरकारलाई अपदस्त गरी आफूलाई प्रधानमन्त्री नियुक्त गराउने कार्य सीमित सरकारको सिद्धान्त, कानूनको शासन, जनप्रतिनिधिमुलक सरकार र जनताको सहभागिता संबैधानिक नैतिकता समेतको विरुद्ध छ ।
– आन्दोलन तथा विद्रोह हुँदा वा क्रान्ति हुँदा स्पष्ट नीति, नेतृत्व र कार्यदिशा हुनु पर्दछ । यसको पुर्वतयारी तथा घोषित कार्यक्रम समेत हुन्छन् । यि तीनमध्ये कुनै एउटाको अभावमा त्यसले सकारात्मक परिणाम दिँदैन र यसले अराजकता सृजना गर्दछ । संविधानलाई उल्लंघन गरी अराजकताको जगमा सरकार गठन हुन सक्दैन ।
– नेपालको संविधानले बालिग मताधिकारको माध्यमवाट आवधिक निर्वाचन मार्फत मात्र सरकार परिवर्तन गर्ने अधिकार दिएको छ । अन्य कुनै दवाव वा प्रभावको माध्यमवाट सरकारलाई अपदस्त गर्न वा मतादेश विहीन व्यक्तिले सरकार संचालन गर्न मिल्दैन ।
– प्रतिनिधिसभा विघटनका सम्बन्धमा यस पूर्व सम्मानित अदालतमा परेको रिट निवेदन उपर विभिन्न व्याख्या भई संवैधानिक रुपमा न्यायिक निरुपण भइसकेको छ । अदालतबाट प्रतिपादित सिद्धान्तहरुको पालना गर्नु गराउनु सबैको कर्तव्य हो भन्ने कुरा धारा १२६ मा स्पष्ट व्यवस्था गरिएको छ ।
– सरकारको गठन नै गैर संवैधानिक तथा कानून विपरीत भएको यसले गराउने काम समेत गैर कानुनी नै हुने हुँदा निज प्रधानमन्त्री तथा मन्त्रीपरिषदले गरेको काम स्वतः खारेज भागी हुन्छ।
– अवैधानिक प्रधानमन्त्रीको सिफारिसमा भएको प्रतिनिधिसभा विघटन संविधान विपरीत भएको हुँदा सो निर्णय बदर गरी प्रतिनिधिसभाको पुनर्स्थापना गरी संवैधानिक प्रकृयालाई पुनःस्थापना हुनु पर्दछ । यस सम्बन्धमा हाम्रो पार्टी नेकपा एमाले ले निर्णय गरी सकेको छ । र पुनःस्थापनाको पक्षमा आफ्नो धारणा सार्वजनिक गरी सकेको छ ।