ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको सम्पत्ति तथा दायित्व कुल रु २६ खर्ब २३ करोड ९५ लाख ४० हजार पुगेको छ। आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनअनुसार, २०८२ असार मसान्तसम्म बैंकको वित्तीय स्थितिमा २९.२३ प्रतिशतको वृद्धि भएको उल्लेख छ।
केन्द्रीय बैंकले विभिन्न कोषमा आवश्यक रकम विनियोजन गरेपछि बाँकी रु ४२ अर्ब नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ। प्रतिवेदनअनुसार, आव २०८१/८२ मा विदेशी विनिमय तथा अन्य सम्पत्ति पुनर्मूल्याङ्कन लाभ–हानि समायोजनअघिको खुद आय ९.११ प्रतिशतले वृद्धि भई रु ८० अर्ब ४८ करोड २६ लाख ५० हजार पुगेको छ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ९१ बमोजिम बैंकले प्रत्येक वर्ष वासलात, आय–व्यय तथा सम्बन्धित वित्तीय विवरण समेटिएको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको मितिले चार महिनाभित्र नेपाल सरकारसमक्ष पेस गर्नुपर्ने व्यवस्था छ।