ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकको अध्ययन प्रतिवेदले लुम्बिनी प्रदेशको आर्थिक गतिविधि कृषि, उद्योग, सेवा र पूर्वाधारमा मिश्रित प्रगति देखाएको छ ।
लुम्बिनी प्रदेशको आर्थिक वर्ष २०८१/ ८२ को वार्षिक अध्ययन प्रतिवेदन अनुसार प्रदेशका १२ जिल्लामा कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रमा मिश्रित प्रगति देखिएको हो। लुम्बिनी प्रदेशका उद्योगहरुको औसत क्षमता उपयोग ५०.६० प्रतिशत रहेको छ । गत वर्ष यस्तो क्षमता उपयोग ५६.३६ प्रतिशत रहेको थियो । अध्ययनमा समेटिएका २८ उद्योगहरुमध्ये सबैभन्दा बढी रोजिन उत्पादन गर्ने उद्योगले ८८.६९ प्रतिशत र सबैभन्दा कम ड्राई सिरप उत्पादन गर्ने उद्योगले ८.६४ प्रतिशत क्षमता उपयोग गरेका छन् ।
समीक्षा वर्षमा खाद्य तथा अन्य बालीको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.४२ प्रतिशतले घटेर ७ लाख ६८ हजार ९६८ हेक्टर पुगेको छ। तर उत्पादन ३.४३ प्रतिशतले बढेर ३३ लाख ८० हजार ३२७ मेट्रिक टन पुगेको छ। दुध, मासु, अण्डा र माछाको उत्पादन क्रमशः २.८८, ३.०३, ३.११ र १३.९८ प्रतिशतले वृद्धि भएको छ। काठ उत्पादन २.३४ प्रतिशतले बढ्दा कृषि क्षेत्रमा प्रवाहित कर्जा ३.४६ प्रतिशतले घटेको छ। रुपन्देही जिल्लाले कुल कर्जामा सबैभन्दा बढी (४३.८०%) हिस्सा ओगटेको छ।:
प्रदेशका उद्योगहरुले औसत ५०.६ प्रतिशत क्षमता उपयोग गरेका छन्। सिन्थेटिक कपडाको उत्पादन १७०.७७ प्रतिशतले वृद्धि भएको छ। औद्योगिक क्षेत्रमा प्रवाहित कर्जा ६.९३ प्रतिशतले बढेको छ।
पर्यटकस्तरीय होटलहरुमा शैया संख्या, शैया बिक्री र पर्यटक आगमन क्रमशः ३४.२०%, ४५.७४% र ६१.७८% ले घटेको छ। घरजग्गा रजिष्ट्रेशन ४२.८२% ले बढेको भए पनि राजस्व ५.४५% ले घटेको छ। बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप १५.४३% र कुल कर्जा प्रवाह २.९२% ले वृद्धि भएको छ।
नारायणघाट–बुटवल सडक (पश्चिम खण्ड)को भौतिक प्रगति ६९.०३%, सिद्धबाबा सुरुङ मार्ग ५७.५१%, कालिगण्डकी कोरिडोर ७९%, सिक्टा सिँचाई आयोजना ४४.२३% र बबई सिँचाई आयोजना ८२.२७% पुगेको छ।
प्रतिवेदनले कृषि, उद्योग, सेवा र पूर्वाधार क्षेत्रमा समयसापेक्ष प्रगति भए पनि केही क्षेत्रमा कमी देखिएको र आगामी वर्षमा थप लगानी र व्यवस्थापन आवश्यक रहेको औँल्याएको छ।