ई- आर्थिक, गण्डकी । नेपाल राष्ट्र बैंकले गण्डकी प्रदेशको आर्थिक गतिविधि अध्ययन सार्वजनिक गरेको छ । राष्ट्र बैंकको सार्वजनिक गरेको अध्ययन प्रतिवेदन अनुसार राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/ ८२ मा गण्डकी प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा वृद्धि दर ५.५१ प्रतिशत पुगेको अनुमान गरिएको छ। यस प्रदेशको कुल गार्हस्थ्य उत्पादनमा कृषि, उद्योग र सेवा क्षेत्रको योगदान क्रमशः २७.८ प्रतिशत, १६.५ प्रतिशत र ५५.८ प्रतिशत रहेको छ।
समीक्षा वर्षमा गण्डकी प्रदेशका ११ जिल्लामा प्रमुख कृषि बालीको क्षेत्रफल अघिल्लो वर्षको तुलनामा १.११ प्रतिशतले घटेर ४ लाख ३१ हजार ३८५ हेक्टरमा पुगेको छ। तरकारी, फलफूल, मसला, चिया र कफी खेतीमा वृद्धि देखिएको भए पनि खाद्य, नगदे तथा अन्य बालीमा १.५५ प्रतिशतले कमी आएको छ।
उत्पादनका हिसाबले भने तरकारी, मसला, कफी र महमा क्रमशः १०.९८ प्रतिशत, ५.२६ प्रतिशत, ४७.९५ प्रतिशत र ६९.६९ प्रतिशतले वृद्धि भएको छ। तर खाद्य बाली, नगदे तथा अन्य बाली र फलफूलको उत्पादनमा क्रमशः ९.०५ प्रतिशत र ०.४८ प्रतिशतले कमी देखिएको छ।
पशुजन्य उत्पादनमा दुध १.२५ प्रतिशत र माछा ०.७४ प्रतिशतले घटेको छ भने मासु र अण्डा उत्पादनमा क्रमशः १.३६ र ४.८५ प्रतिशतले वृद्धि भएको छ। वनजन्य उत्पादनमा काठ ३१.३५ प्रतिशत र दाउरा १३.६८ प्रतिशतले बढेको छ। यस प्रदेशका बैंक तथा वित्तीय संस्थाहरूले कृषि, वन र माछापालन क्षेत्रमा रु. २४ अर्ब ६ करोड लगानी गरेका छन्।
समीक्षा वर्षमा गण्डकी प्रदेशका उद्योगहरूको औसत उत्पादन क्षमता उपयोग ३९.१९ प्रतिशत रहेको छ। केही उद्योगमा उत्पादन वृद्धि भए पनि ईटा, औषधी ट्याब्लेट, चकलेट, बिस्कुट र सिमेन्ट उत्पादनमा कमी आएको छ। औद्योगिक क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाले कुल कर्जाको ७.८२ प्रतिशत अर्थात् रु. २७ अर्ब ९१ करोड प्रवाह गरेका छन्।
सेवा क्षेत्रमा सकारात्मक प्रगति देखिएको छ। विदेशी पर्यटक आगमन २६ प्रतिशतले बढेर ६९ हजार ४९१ पुगेको छ। होटल शैया संख्या ३.८ प्रतिशतले वृद्धि भई ७५ हजार ४१९ पुगेको छ भने अकुपेन्सी ३१.८४ प्रतिशत कायम भएको छ। हवाई सेवा क्षेत्रमा पनि उडान संख्या बढेको छ र सिट उपयोग क्षमता ७९.१३ प्रतिशत रहेको छ।
उच्च शिक्षा क्षेत्रमा भने विद्यार्थी संख्या ५.३१ प्रतिशतले घटेको छ, जसका कारण क्याम्पस संख्या ३.१३ प्रतिशतले घटेको छ। तर शिक्षकको संख्या १.३३ प्रतिशतले वृद्धि भएको छ। बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन १४.६ प्रतिशतले वृद्धि भई रु. ६ खर्ब १२ अर्ब २९ करोड पुगेको छ।
पूर्वाधार र रोजगारी
प्रदेशका राष्ट्रिय गौरवका आयोजना तथा पूर्वाधार परियोजनाहरूमा पनि प्रगति देखिएको छ। मालढुङ्गा–राम्दी–गैडाकोट खण्डको भौतिक प्रगति ८० प्रतिशत, बेनी–जोमसोम खण्डको ८७ प्रतिशत, गोरखा–लमजुङ खण्डको ७७ प्रतिशत, कास्की–पर्वत–बाग्लुङ खण्डको ८२ प्रतिशत, तनहुँ जलविद्युत आयोजना ६७ प्रतिशत र बुढिगण्डकी जलविद्युत १६.५५ प्रतिशत पुगेको छ।
प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ५९ स्थानीय तहले ७८९ आयोजना सञ्चालन गरेका थिए। यसबाट कुल ४४५ व्यक्तिले औसत ४८ दिन रोजगारी पाएका थिए।