काठमाडौं । काठमाडौं महानगरपालिकाले आइतबारदेखि सुकुम्बासी बस्ती खाली गराउने तयारी गरेको भन्दै जेन–जी मुभमेन्ट अलायन्सले आपत्ति जनाएको छ। अलायन्सले विज्ञप्ति जारी गर्दै स्थानीय सरकारलाई पर्याप्त अध्ययन र सहमतिबिना बस्ती हटाउने प्रयास नगर्न आग्रह गरेको हो।
विज्ञप्तिमा भनिएको छ, “सम्बन्धित समुदायसँगको सहमतिमा उपयुक्त व्यवस्थापन अपनाई काठमाडौं महानगरपालिकाले सबैको साझा सहरको रूपमा उदाहरण प्रस्तुत गरोस्। निहत्था, उत्पीडित जनतामाथि दम्भ, तिरस्कार र बेवास्ताको अस्त्र नचलाओस्।”
अलायन्सले सुकुम्बासी बस्ती हटाउने विषयमा न्यायपूर्ण, समावेशी र सहमतिको समाधान खोज्न आग्रह गरेको छ।
त्यस्तै, संगठनले काठमाडौं महानगर क्षेत्रभित्र रहेका बस्तीहरूको यथार्थ विवरण र तथ्यांक सार्वजनिक गर्न पनि माग गरेको छ।
विज्ञप्तिमा भनिएको छ, “सुकुम्बासी समुदायका बारेमा ‘नक्कली र सक्कली’ भन्ने बहसहरू भइरहेका छन्। त्यसैले यदि अध्ययन गरिएको छ भने त्यसको प्रतिवेदन र तथ्यांक सार्वजनिक गर्नुपर्छ।”
अलायन्सले सरकारले नीतिगत रूपमा वञ्चित र उत्पीडित वर्गमाथि अन्याय नगरी सहानुभूति र सहकार्यका साथ समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।
