काठमाडौं । इजरायलको हालको द्वन्द्वका क्रममा हमास समूहद्वारा बन्धक बनाई ज्यान गुमाएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर सोमबार काठमाडौं ल्याइएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की, मन्त्रीहरू तथा परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरूको उपस्थितिमा जोशीको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरिएको थियो।

भावपूर्ण वातावरणमा आयोजित सो कार्यक्रममा सरकारका तर्फबाट जोशीप्रति श्रद्धा प्रकट गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिएको छ।

जोशी इजरायलको कृषि तालिमका लागि गएका नेपाली विद्यार्थीमध्ये एक थिए। हमासको आक्रमणका क्रममा उनी बन्धकमा परेका थिए। लामो समयदेखि सम्पर्कविहीन रहेका उनको मृत्युसम्बन्धी पुष्टि केही दिनअघि मात्र भएको हो।

सरकारले घटनाको छानबिन तथा पीडितका परिवारलाई आवश्यक सहयोग उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।