ई-आर्थिक, काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका तत्कालीन मन्त्री तथा प्रतिनिधिसभाका (हाल विघटित) सांसद राजकुमार गुप्ता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयकी पूर्वमन्त्री रञ्जिता श्रेष्ठसहित सात जनाविरुद्ध घुस र भ्रष्टाचारको आरोपमा विशेष अदालतमा आरोपपत्र दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा सार्वजनिक गरिएको प्रेस विज्ञप्तिअनुसार, तत्कालीन मन्त्री गुप्ताले कास्की मालपोत कार्यालयका प्रमुख अधिकृतको सरुवासम्बन्धी काम गरिदिने भन्दै घरजग्गा व्यवसायीबाट ५३ लाख रुपैयाँ लिएको प्रमाणसहित उजुरी परेपछि अनुसन्धान अघि बढाइएको थियो। त्यस्तै, सोही व्यवसायीलाई भूमि आयोगको सदस्य बनाउने प्रलोभन देखाई थप २५ लाख रुपैयाँ घुस मागेको अडियो रेकर्डसमेत आयोगको फाइलमा समावेश गरिएको हो।
जग्गा नामसारीमा मिलेमतोको आरोप
अनुसन्धानका क्रममा, कास्कीको पोखरा–१६, लिची बगैंचा क्षेत्रको नक्सा नं. २५, २६ र २८ अन्तर्गत रहेको जग्गा दुर्गादेवी शाहका हकवालाहरूको नाममा नामसारी गर्ने प्रक्रियामा समेत ठगी र घुस लिने कार्यमा मिलेमतो भएको देखिएको आयोगले जनाएको छ।
सुरज शाह ठकुरीले मालपोत कार्यालय कास्कीमा नामसारीको निवेदन दिएको भए पनि मालपोत अधिकृत रामचन्द्र अधिकारीले अनावश्यक विलम्ब गरेपछि सो प्रक्रिया घरजग्गा व्यवसायी तथा बिचौलिया सुजन कुमार तामाङमार्फत अघि बढाइएको देखिन्छ ।
तामाङले याम कुमारी गुरुङ र तुल्सीराम बुढा मगरसँगको मिलेमतोमा दर्ता प्रक्रियामा सहयोग गर्ने सर्तमा दर्ता हुने कुल जग्गाको ४० प्रतिशत हिस्सा आफूले लिने सहमतिसहित २०८१ जेठ २० गते करारपत्र तयार गरेको प्रमाणसमेत फेला परेको हो ।
मुद्दामा परेका व्यक्तिहरूको विवरण
राजकुमार गुप्ता – पूर्वमन्त्री, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय,रञ्जिता श्रेष्ठ – पूर्वमन्त्री, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, रामचन्द्र अधिकारी – तत्कालीन प्रमुख मालपोत अधिकृत, कास्की, सुजन कुमार तामाङ – घरजग्गा व्यवसायी/बिचौलिया, याम कुमारी गुरुङ – संलग्न व्यक्ति र तुल्सीराम बुढा मगर – संलग्न व्यक्ति छन् ।
आयोगले पूर्वमन्त्री राजकुमार गुप्तालाई बिगो ७८ लाख र पूर्वमन्त्री तथा नागरिक उनमुक्ती पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई ७८ लाख बिगो कायम गरेर मुद्दा दायर गरेको छ ।
त्यस्तै, मालपोत कार्यालय कास्की पोखराका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीलाई ५३ लाख, घरजग्गा व्यवसायी तथा बिचौलिया सुजनकुमार तामाङलाई ७८ लाख, खमबहादुर पुनलाई २५ लाख, यामकुमारी गुरुङलाई ७८ लाख र तुल्सीराम बुढालाई ७८ लाख बिगो कायम गरेर अख्तियारले मुद्दा दायर गरेको हो ।
विशेष अदालतमा मुद्दा दायर
अख्तियारले पर्याप्त प्रमाणका आधारमा भ्रष्टाचार निवारण ऐनअनुसार घुस लिएको, सरकारी प्रक्रिया दुरुपयोग गरेको, मिलेमतोमा जग्गा नामसारी गराएको तथा सार्वजनिक पदको दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
अख्तियारले थप अनुसन्धान जारी रहेको जनाएको छ भने दोषी ठहरिएकाहरूलाई कानुनअनुसार कडा सजाय दिलाउने प्रतिबद्धता जनाएको छ।