काभ्रेपलाञ्चोक । असोज १८ र १९ गतेको अविरल वर्षाका कारण आएको बाढीले रोशी खोलाको किनारस्थित बीपी राजमार्गको करिब २० किलोमिटर सडक पूर्ण रूपमा क्षतिग्रस्त बनाएको छ। त्यसपछि धुलिखेलदेखि चौकीडाँडासम्म मात्रै सवारी चल्दा अन्य यात्रुहरू दिनहुँ भिर, खोल्सो र जंगल हुँदै पैदल यात्रा गर्न बाध्य भएका छन्।
भकुन्डे–नेपालथोक सडकखण्डका १७ स्थानमा क्षति पुगेपछि राजमार्ग पूर्ण अवरुद्ध भएको हो। काभ्रे, रामेछाप र सिन्धुलीका हजारौं यात्रु घण्टौं पैदल यात्रा गरेर चौकीडाँडासम्म पुगेर मात्र यातायात सेवामा पहुँच पाउँदै आएका छन्। बाढी र पहिरोले च्यापेर सडक बगाउँदा खोलातिर बाटो बनाइँदैछ।
डिभिजन सडक कार्यालय भक्तपुर र स्थानीय तहको समन्वयमा अस्थायी डाइभर्सन निर्माण सुरु गरिएको छ भने बिरामीलाई सुरक्षाकर्मीले स्ट्रेचरमार्फत ढुवानी गर्ने कामसमेत भइरहेको छ।
स्थायी पुनर्निर्माणका लागि राजमार्ग चार खण्डमा ठेक्का प्रक्रियामा रहेको जनाइएको छ। बीपी राजमार्ग पूर्वी नेपाल जोड्ने छोटो र व्यस्त मार्ग भएकाले त्यसको अवरोधले स्थानीय बासिन्दा र यात्रीहरूलाई ठूलो सास्ती बनेको छ।