२०८३ साउन ९ शनिबार

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि ठप्प, इलामबासी मर्कामा

ई आर्थिक    आइतबार, भाद्र २२ २०८२
2.3K
Shares
फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि ठप्प, इलामबासी मर्कामा

इलाम : इलामको फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल तीन महिनादेखि ठप्प हुँदा स्थानीयवासी पुनः झापा र विराटनगर धाउन बाध्य भएका छन्। पर्यटन र स्थानीय अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएको यो विमानस्थल २०७८ फागुन १ गते उद्घाटन भएयता पटक–पटक उडान रोकिने समस्यामा परेको छ।

आर्थिक वर्ष २०८१/८२ मा ३३ उडान भए पनि, पछिल्लो पटक २०८२ जेठ १४ गतेयता यहाँबाट कुनै पनि जहाज उडेका छैनन्। नेपाल एयरलाइन्सका अनुसार खराब मौसमका कारण उडान रोकिएको हो। विमानस्थल अहिले सुनसान बनेको छ।

सुरुआतदेखि अनियमित

यो विमानस्थलमा पहिलोपटक २०७५ जेठ २१ गते तारा एयरले परीक्षण उडान गरेको थियो। त्यसपछि २०७८ माघ २६ मा नेपाल एयरलाइन्सले पनि सफल परीक्षण उडान गरेको थियो। सुरुआतमा तारा एयरले सातामा दुई दिन (बुधबार र शनिबार) उडान गर्दै आएको थियो।

स्थानीय सरकारको सहयोगमा जहाज उडाइँदै आएको थियो। इलाम नगरपालिकाले जहाजको सिट खाली भए त्यसको भाडा भर्ने सर्तमा तारा एयर र नेपाल एयरलाइन्ससँग सहकार्य गरेको थियो। तर, हाल नगरपालिकाले कुनै पनि एयरलाइन्ससँग सहकार्य नगरेको जनाइएको छ।

“पहिला नगरपालिकाले केही रकम व्यहोर्ने गरी सम्झौता गरेर उडान भैरहेको थियो, अहिले त्यस्तो कुनै व्यवस्था छैन,”
गणेशकुमार खड्का, प्रमुख प्रशासकीय अधिकृत, इलाम नगरपालिका

पूर्वाधार अधुरै, संरचना अपुरो

फाल्गुनन्द–सुकिलुम्बा विमानस्थल ३२८ रोपनी क्षेत्रफलमा फैलिएको छ। धावनमार्ग ६७० मिटर लम्बाइ२० मिटर चौडाइको छ। तर हालसम्म स्थायी टर्मिनल भवन, पक्की पहुँचमार्ग, सुरक्षित तारबारलगायत संरचना अधुरा छन्।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार, हालसम्म यो विमानस्थलमा रु २८ करोडभन्दा बढी खर्च भइसकेको छ। स्थानीयवासीहरूले व्यक्तिगत रूपमा एकदेखि ४२ रोपनीसम्म जग्गा दान गरेका थिए।

दीर्घकालीन समाधानको खाँचो

इलाम नगरपालिका–९ का वडाध्यक्ष गोपाल चौहानका अनुसार, विमानस्थल सञ्चालन नियमित बनाउन नगर कार्यपालिकाले निरन्तर पहल गर्दै आएको छ। तर विमान बिग्रिएको, मौसम खराब भएको लगायत कारणले दीर्घकालीन समाधान आउन सकेको छैन।

यो विमानस्थलको प्रक्रिया २०५८ सालदेखि सुरु भएको हो। २०६७ चैत १३ गते तत्कालीन प्रधानमन्त्री झलनाथ खनालले शिलान्यास, र २०७८ फागुन १ गते पुनः खनालकै हातबाट उद्घाटन गरिएको थियो।

स्थानीय बासिन्दाहरूले अब दीर्घकालीन योजना बनाएर स्थायी र नियमित उडान व्यवस्था गर्न सरकारलाई आग्रह गरेका छन्। नत्र भने, विमानस्थल “सिर्जना त गरियो, तर उपयोग छैन” भन्ने अर्को उदाहरण बन्ने खतरा देखिन्छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij