ई-आर्थिक, वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूभाग भएको स्पष्ट पार्दै यस विषयमा छिमेकी राष्ट्रहरूले चित्त नदुखाउनुपर्ने बताएका छन्।
नेपाल प्रेस युनियन पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै गृहमन्त्री लेखकले लिपुलेक क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि प्रयोग गर्ने भारत–चीनबीचको द्विपक्षीय सहमति प्रति नेपालले जनाएको आपत्ति उचित भएको बताएका हुन्। उनले भने, “हाम्रो भूमि हाम्रो हो भनेर भन्ने अधिकार हामीसँग छ, यसबाट कसैसँगको मित्रता कमजोर हुँदैन। लिम्पियाधुरा, कालापानी र लिपुलेक नेपालको भूमि हो भन्नेमा हामी स्पष्ट छौं।”
उनले हालैका वर्षहरूमा भएको सीमासम्बन्धी सम्झौतामा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्त गरेको असहमति राष्ट्रिय हितमा गरिएको कदम भएको पनि बताए। गृहमन्त्री लेखकले थपे, “नेपालको भूमि कुनै पनि मुलुकविरुद्ध प्रयोग हुन दिइने छैन। तर, आफ्नो भूभागको हकमा हामी प्रष्ट छौं। यो हाम्रो सार्वभौमिक अधिकार हो।”
उनको भनाइ अनुसार, कुनै पनि छिमेकीसँग मैत्री सम्बन्ध कायम राख्दै नेपालको भूमि र सार्वभौमसत्तामा सम्झौता नगरिने सरकारको अडान रहेको छ।