धार्मिक पर्यटन प्रवर्द्धन र हवाई सम्पर्क विस्तारमा जोड
ई-आर्थिक, काठमाडौं । उच्च आर्थिक वृद्धिदर हासिल गरिरहेको भियतनाम र विकासोन्मुख मुलुक नेपालबीचको सम्बन्ध नयाँ उचाइमा पुगेको छ। भियतनामकी उपराष्ट्रपति भो थि आन सुआनको तीनदिने नेपाल भ्रमणले दुई देशबीचको धार्मिक पर्यटन, व्यापार र लगानी प्रवर्द्धनमा उल्लेख्य सम्भावना उजागर गरेको छ।
नेपाल भ्रमणका क्रममा उपराष्ट्रपति सुआनले राष्ट्रपति, प्रधानमन्त्री, उपराष्ट्रपति र परराष्ट्रमन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै बौद्धमार्गी पर्यटक आकर्षण, हवाई कनेक्टिभिटी विस्तार र सांस्कृतिक सहकार्यका विषयमा गहन छलफल गरेकी छन्।
भियतनाम नेपालका लागि उदाउँदै गरेको पर्यटकीय बजार हो। सन् २०२३ मा १३,८९५, सन् २०२४ मा ११,६९४ र सन् २०२५ को पहिलो सात महिनामै ६,९३७ भियतनामी पर्यटक नेपाल आइसकेका छन्। नेपाल पर्यटन बोर्डका अनुसार हवाई सम्पर्क र सहकार्य मजबुत बनाउन सके, आगमन दर अझ तीव्र हुनेछ।
राजदूत धनबहादुर ओलीका अनुसार, “भियतनामको बढ्दो क्रयशक्ति, सांस्कृतिक सामीप्यता र बुद्धप्रतिको श्रद्धा नेपालका लागि ठूलो पर्यटकीय अवसर हो।” उनले लुम्बिनी केन्द्रित चार्टर उडान तथा धार्मिक मार्ग विकासको खाका अघि सारे।
संस्कृतिविद् डा. गोविन्द टण्डनले यस भ्रमणलाई धार्मिक पर्यटन प्रवर्द्धनको ढोका खोल्ने अवसर भनेका छन्। होटल संघ र ट्राभल एजेन्सी महासंघले पनि उच्चस्तरीय भ्रमणबाट पर्यटन मात्र नभई जनस्तरको सम्बन्ध पनि सुदृढ हुने विश्वास व्यक्त गरेका छन्।
भियतनामले सन् २०२४ मा १७.५ मिलियन पर्यटक भित्र्याएको छ। नेपालले यस्तै नीतिगत सुधार र रणनीतिक सहकार्यमार्फत आफ्नो पर्यटकीय लक्ष्यमा उक्लन सक्ने आधार देखिएको छ।