काठमाडौं : राजधानीस्थित पशुपति आर्यघाटमा जलिरहेको शवबाट अंग खरिद गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको लालबन्दी घर भई काठमाडौंको कपनमा बसोबास गर्ने ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरीको बलानबिहुल घर भई गौरीघाट बस्ने ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी कुलदीप चन्दले उनीहरूलाई नियन्त्रणमा लिइएको पुष्टि गरेका छन्।
उनीहरूले काभ्रे जिल्लाका राम शाहीको जलिरहेको शवबाट कान्छी औंलाको टुप्पो र खरानी किनेकाले अनुसन्धान थालिएको प्रहरीको भनाइ छ।
यस घटनापछि मृतकका मलामीले आर्यघाटका ब्राह्मणमाथि शंका व्यक्त गर्दै उजुरी दिएका थिए। उजुरीका आधारमा काभ्रेको मण्डन देउपुर घर भई आर्यघाटमा घाटे ब्राह्मणको काम गर्ने ६१ वर्षीय गणेश ढकाल र उनका सहयोगी, उदयपुर कटारीका २४ वर्षीय विनायक मैनालीलाई पनि प्रहरीले पक्राउ गरेको छ।
प्रहरी अनुसन्धानमा उनीहरूले ४ सय रुपैयाँमा शवको अंग र खरानी दिएका स्वीकार गरेका छन्। माग गर्ने व्यक्तिहरूले ती सामग्री ‘भगवानको पूजा’ गर्नका लागि चाहिएको बताएका थिए।
तर, कुन देवी–देवताको पूजा गर्न मृत शरीरको अंग आवश्यक पर्छ भन्नेबारे आफूहरूलाई जानकारी नभएको घाटे ब्राह्मणले प्रहरीलाई बताएका छन्।
घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।