२०८३ साउन ९ शनिबार

काठमाडौंमा बैंकिङ कसुर र ठगी अपराध प्रमुख चुनौती, मुख्य १० अपराध यस्ता

ई आर्थिक    बुधबार, साउन २८ २०८२
5.1K
Shares
काठमाडौंमा बैंकिङ कसुर र ठगी अपराध प्रमुख चुनौती, मुख्य १० अपराध यस्ता

ई–आर्थिक, काठमाडौं । काठमाडौं उपत्यकामा परम्परागत अपराधभन्दा बढी आर्थिक र प्रविधि-सम्बन्धी अपराधहरू प्रमुख चुनौतीका रूपमा देखापर्न थालेका छन्। जिल्ला प्रहरी परिसर, काठमाडौंले बुधबार सार्वजनिक गरेको वार्षिक कार्यप्रगति विवरण अनुसार, बैंकिङ कसुर, सहकारी तथा मिटरब्याज ठगी, हुण्डी कारोबार, साइबर अपराधलगायतका मुद्दाहरूले राजधानीको शान्ति सुरक्षा व्यवस्थापनमा गम्भीर असर पारिरहेका छन्।

प्रहरी परिसरका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) विश्व अधिकारीले पत्रकार भेटघाट कार्यक्रममा जनशक्ति अभावका बाबजुद पनि शान्ति सुरक्षा, अपराध अनुसन्धान र नियन्त्रणमा प्रहरी सफल रहेको बताए। उनका अनुसार, परिसरको ४,०१६ जनाको स्वीकृत दरबन्दीमध्ये हाल ३,२३३ जना मात्र कार्यरत छन्, जसका कारण करिब ८१५ जनाको अभाव रहेको छ।

काठमाडौंमा दैनिक औसत ३५ वटा अपराधका घटना दर्ता हुने गरेका छन्। आर्थिक वर्ष २०८१/८२ मा दर्ता भएका १२,९१५ मुद्दामध्ये ६,५५३ वटा बैंकिङ कसुरका छन्, जुन कुल अपराधको ५० प्रतिशतभन्दा बढी हो।

मुख्य १० अपराध :

बैंकिङ कसुर – ६,५५३

अभद्र व्यवहार – १,९५३

चोरी – ९५१

ठगी – ७४५

लागूऔषध – ४३१

आत्महत्या – ३३२

जबर्जस्ती करणी – २४४

ज्यान मार्ने उद्योग – १४०

सवारी ज्यान – १००

सवारी अंगभंग – ७४

यी मुद्दाले कुल अपराधको ८९.२२ प्रतिशत हिस्सा ओगटेका छन्। पछिल्ला वर्षहरूमा सहकारी ठगी, लघुवित्त घोटाला, मिटरब्याज, वैदेशिक रोजगारी ठगी, अनलाइन जुवा र हनी ट्रयाप जस्ता साइबर अपराधको क्रम तीव्र रूपमा बढेको प्रहरीको विश्लेषणमा उल्लेख छ।

लागूऔषधको चुनौती

गत वर्ष लागूऔषध सम्बन्धी ४३१ मुद्दामा ७२५ जना पक्राउ परेका छन्। पहिलोपटक सेवन गर्नेहरूमा १५–१९ वर्ष उमेर समूहका युवाको संख्या सबैभन्दा बढी ४८.९ प्रतिशत रहेको पाइएको छ।

फरार अभियुक्त पक्राउ, कैद र जरिवाना

प्रहरीले अदालतबाट दोषी ठहर भई फरार रहेका ५,५१२ जनालाई पक्राउ गरी २४ करोड २० लाख रुपैयाँभन्दा बढी जरिवाना असुल गरेको छ। साथै, उनीहरूबाट २९८ वर्ष २ महिना ९ दिन बराबरको कैद कार्यान्वयन गराएको हो।

संरचना र जनशक्ति समस्याले चुनौति

काठमाडौं परिसर अन्तर्गत १२९ प्रहरी इकाईमध्ये मात्र १४ वटा इकाईले आफ्नै भवन र जग्गा उपलब्ध गराएका छन्। ६० वटा इकाई अस्थायी संरचनामा छन् भने केही सरकारी तथा गुठीको जग्गा र भवनमा सञ्चालन भइरहेका छन्।

गत वर्ष १७८ जना प्रहरीले राजीनामा दिएका छन्, जसमध्ये सबैभन्दा बढी प्रहरी हवल्दार (७६ जना) थिए। यस्तै, १८ जनाले अनिवार्य अवकाश पाएका छन्।

पुरस्कार र कारबाही

प्रहरीको आन्तरिक नीतिअनुसार, राम्रो कार्य प्रदर्शन गर्ने ६८१ जनालाई पुरस्कृत गरिएको छ भने १५८ जनालाई कारबाही गरिएको छ।

डिउटीमा दैनिक २,५२१ जना प्रहरी

काठमाडौंमा दैनिक ९२४ वटा डिउटीमा २,५२१ जना प्रहरी परिचालन गरिन्छ। मोटरसाइकल गस्ती, पैदल गस्ती, मोबाइल चेकिङ, पिकेट ड्युटी लगायतका नियमित सुरक्षा कार्यहरु सञ्चालनमा छन्।

ठूलो राजनीतिक कार्यक्रम र आपतकालीन अवस्था व्यवस्थापन

प्रहरीले गत वर्ष विभिन्न ६१ वटा निर्वाचन तथा महाधिवेशनमा सुरक्षा व्यवस्था मिलाएको छ। १७ वर्षपछि त्रिचन्द्र क्याम्पससहित १८ क्याम्पसमा स्ववियु निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गरिएको उल्लेख गरिएको छ।

मनसुनजन्य विपद्को तयारीका लागि पनि विशेष कार्ययोजना अनुसार बाढी, डुबान, पहिरोका घटनामा सक्रियतापूर्वक काम गरिएको प्रहरीको भनाइ छ।

नयाँ चुनौतीमा प्रविधिसँगै समुदायको साथ

आर्थिक र साइबर अपराधको बढ्दो प्रवृत्तिलाई ध्यानमा राख्दै काठमाडौं प्रहरीले प्रविधिको प्रयोग र समुदायसँग सहकार्यलाई प्राथमिकता दिएको जनाएको छ। अपराध नियन्त्रण, सेवा प्रवाह र सुरक्षामा सुधार ल्याउन विभिन्न नवीनतम रणनीति कार्यान्वयनमा रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij