ई-आर्थिक, जुम्ला । पातारासी गाउँपालिकाले गत आर्थिक वर्ष २०८१/८२ मा विभिन्न दुईसय १७ वटा विकासे योजना सम्पन्न गरेको छ।
पालिकाभित्रका सात वटा वडामा जम्मा दुईसय २६ वटा योजना सम्झौता भएकामा दुईसय १७ वटा निर्माण सम्पन्न भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन शाहीले जानकारी दिए।
वडा नं १ मा २४ वटा योजनामध्ये २२ वटा र वडा नंं. २ मा ४२ योजनामध्ये ४० योजना निर्माण भएका छन्। यसैगरी वडा नं. ३ मा ३९ मध्ये ३३ र वडा नं. ४ मा ३९ मध्ये ३८ वटा योजना निर्माण सम्पन्न भई सञ्चालनमा आएको प्रमुख प्रशासकीय अधिकृत शाहीको भनाइ छ।
यसैगरी, वडा नं. ५ मा २९ योजनामध्ये सबै, वडा नं. ६ मा ३४ मध्ये ३१ वटा र वडा नं. ७ मा २४ योजनामध्ये सबै निर्माण सम्पन्न भई सञ्चालनमा आएको पातारासी गाउँपालिकाले जनाएको छ। उक्त योजनाका लागि १५ करोड ७६ लाख २२ हजार रुपैयाँ बजेट खर्च भएको छ।
यसरी वडा तहमा विनियोजन भएको कूल बजेटको ८१ दशमलव १२ प्रतिशत विकास बजेट खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए। सो गाउँपालिकाले गत आर्थिक वर्षमा १६ लाख ५० हजार आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य राखेकामा लक्ष्यभन्दा बढी २३ लाख २९ हजार ६४ हजार संकलन गरेको छ।
प्रमुख प्रशासकीय अधिकृत शाहीले भन्छन्, ‘ठेक्का लगाइएका सातमध्ये बहुवर्षीय एउटा योजनाबाहेक बाँकी ६ वटा योजना सम्पन्न भएका छन्। चालु तर्फ २२ करोड ७९ लाख १६ हजारमध्ये ८६ प्रतिशत खर्च भएको छ।’
पुँजीगततर्फ १२ करोड ३३ लाख ७१ हजार विनियोजन गरिएकामा ६४ प्रतिशत खर्च भएको उनको भनाइ छ।