२०८३ साउन ९ शनिबार

तराईमा स्थायी सिँचाइ समाधान ल्याउने सरकारको प्रतिबद्धता : प्रधानमन्त्री ओली

ई आर्थिक    आइतबार, साउन २५ २०८२
2.9K
Shares
तराईमा स्थायी सिँचाइ समाधान ल्याउने सरकारको प्रतिबद्धता : प्रधानमन्त्री ओली

ई-आर्थिक, काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको कृषि समस्याको स्थायी समाधानका लागि सरकारले दृढता देखाएको बताएका छन्। विशेषगरी सिँचाइको दीर्घकालीन समाधान खोज्ने प्रतिबद्धता जनाउँदै प्रधानमन्त्री ओलीले अब आकाशे वर्षामाथिको निर्भरता हटाइने बताएका हुन्।

मधेस प्रदेशका आठ जिल्लामा ७६.५४ प्रतिशत क्षेत्रफलमा रोपाईं सम्पन्न भएकोमा खुसी व्यक्त गर्दै प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत सन्देश जारी गरेका हुन्। “किसानको मुस्कान, जमिनमा हरियालीको सुगन्ध र समाजको खाद्यान्न भविष्य नै देश र वर्तमान सरकारको लक्ष्य हो,” प्रधानमन्त्री ओलीले लेखेका छन्।

उनका अनुसार यस वर्षको खडेरीले धानको भण्डार मानिने तराईका खेतहरूमा गम्भीर संकट ल्याएको थियो। “जहाँ रोपाईं भयो, त्यहाँ पनि पानीको अभावले रोपो मर्न थालेको थियो,” ओलीले भनेका छन्, “त्यही बेलामा मैले तराईको दौरा गरेको थिएँ र सरकारले सुक्खाग्रस्त क्षेत्र घोषणा गर्दै राहत र सहयोगका विशेष निर्णयहरू गरेको थियो।”

प्रधानमन्त्री ओलीले सिँचाइको दीर्घकालीन समाधानका लागि तत्कालका लागि ५०० वटा डिपबोरिङ जडानको काम सुरु गरिएको र सुनकोशी–मरिन डाइभर्सन योजना तीव्र गतिमा अगाडि बढाइएको जानकारी दिएका छन्।

उनले मौसमले साथ दिँदै वर्षा भएपछि तराईका खेतहरूमा हरियाली फर्किन थालेको उल्लेख गर्दै, आगामी वर्षदेखि सिँचाइ प्रणाली बलियो बनाइने र यस्तो खडेरीको संकट दोहोरिन नदिने बताए।

प्रधानमन्त्री ओलीले धान रोपाईंमा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको भन्दै तस्बिरसहित देशभरिका किसानहरूलाई अभिवादन समेत गरेका छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij