ई-आर्थिक, नवलपरासी । नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका–२ स्थित दाउन्ने खण्डमा पूर्व–पश्चिम राजमार्ग पुनः अवरुद्ध भएको छ। लगातारको वर्षाले सडक हिलो र चिप्लो बनेपछि सवारी साधन चल्न नसक्ने अवस्था आएको हो। पैसठ्ठी मोडनजिकै गाडी फसेका कारण अहिले आवागमन ठप्प भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालले जानकारी दिए।
गत सोमबारदेखि पटक–पटक अवरुद्ध हुँदै आएको दाउन्ने सडकखण्ड आज बिहानदेखि पुनः बन्द भएको हो। ढकालका अनुसार हल्का वर्षामा पनि गाडीहरू चिप्लिने गरेका छन् भने ट्रकहरू हिलोमा फस्दा झन् समस्या थपिएको छ। पूर्वबाट पश्चिम जाँदै गरेका सवारी साधन उकालोमा चिप्लिने घटना बढेपछि आवागमनमा झनै कठिनाइ भएको प्रहरीले जनाएको छ।
दाउन्ने खण्डमा निरन्तर सडक अवरोध भइरहेकाले मर्मतको प्रयास जारी राखिएको छ। विनयी त्रिवेणी गाउँपालिका–२ को विश्वकर्मा मन्दिर नजिकको क्षेत्रमा बारम्बार अवरोध हुँदै आएको छ। बुटवल–नारायणघाट सडकखण्ड विस्तारको क्रममा दाउन्ने पहाड काटिएकाले सामान्य वर्षामा समेत यो खण्डमा सवारी चलाउन मुस्किल हुने गरेको छ।