ई-आर्थिक, बाँके । बर्सेनि बाढीको त्रासमा बाँचेका राप्ती नदी किनारका बाँकेका बासिन्दा यस वर्ष भने केही राहत महसुस गर्दैछन्। ‘जनताको तटबन्ध कार्यक्रम’ अन्तर्गत नरैनापुर गाउँपालिका अन्तर्गतको खल्ला झगडिया क्षेत्रमा ४०० मिटर लामो आपतकालीन तटबन्ध निर्माण पूरा भएसँगै स्थानीयले डुबानको डरबाट छुटकारा पाएको बताएका छन्।
६ दशक पार गरेका स्थानीय झिंगदेव वर्माले भने, “बाढीले कति पटक त उठीबास गरायो। अब तटबन्ध बनेपछि ढुक्क छु।” सोही गाउँकी रामप्यारी यादवले पनि यसपटक बाढीको चिन्ता कम भएको बताउँदै भनिन्, “हामी महिलालाई सबैभन्दा बढी असर हुन्थ्यो, अब केही राहत महसुस भएको छ।”
राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका दर्जनौँ बस्तीहरू, जो विगतमा बाढीको उच्च जोखिममा थिए, तटबन्ध बनेपछि सुरक्षित भएका छन्। दुई वर्षअघि आएको बाढीले पुरानो तटबन्ध बगाएपछि बजेट अभावका कारण निर्माण रोकिएको थियो।
तटबन्ध निर्माणमा सिमेन्टका पोल, बाँस, बालुवाले भरिएका बोरा र जाली प्रयोग गरिएको छ। आयोजना प्रमुख डा. नारायण सुवेदीका अनुसार, “दिनरातको मेहनतले छोटो समयमा निर्माण कार्य सम्पन्न भएको हो।”
तटबन्ध निर्माण सम्पन्न भएसँगै अब फत्तेपुर जरैया क्षेत्रमा पनि आपतकालीन तटबन्ध निर्माण सुरु गरिने बताइएको छ। साथै खल्ला झगडियामै पक्की तटबन्ध मङ्सिर २०८३ सम्म सम्पन्न गर्ने लक्ष्य लिएको छ। निर्माणको जिम्मा साई माँ दुर्गा भिन्सी जेभीले लिएको छ।