२०८३ साउन ९ शनिबार

थानकोट–चित्लाङ सडक स्तरीकरणमा तीव्रता: आर्थिक विकासको ढोका खोल्ने विश्वास

ई आर्थिक    बिहिबार, साउन १५ २०८२
3.8K
Shares
थानकोट–चित्लाङ सडक स्तरीकरणमा तीव्रता: आर्थिक विकासको ढोका खोल्ने विश्वास

ई-आर्थिक, काठमाडौं ।  भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले थानकोट–चित्लाङ सडक स्तरीकरणको काममा तीव्रता दिन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्। आज सडक निरीक्षणपश्चात उनले यो खण्ड काठमाडौँ जोड्ने छोटो मार्ग मात्र नभई आर्थिक विकास र समृद्धिको गतिशील मार्ग बन्न सक्ने विश्वास व्यक्त गरे।

मन्त्री दाहालका अनुसार थानकोट–चित्लाङ सडकले मकवानपुर जिल्लाको कृषि उपज काठमाडौँसम्म ढुवानी गर्न, पर्यटकीय सम्भावना विस्तार गर्न र स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउन महत्त्वपूर्ण योगदान दिन सक्छ। “निर्धारित समयमा काम सम्पन्न हुनु अत्यन्त जरूरी छ,” उनले भने, “ढिलासुस्तीको अन्त्य गरेर नागरिक जीवनमा सकारात्मक परिवर्तन ल्याउने खालका पूर्वाधार निर्माणमा हामी प्रतिबद्ध छौं।”

सडकको महत्त्वबारे नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले पनि जोड दिएका छन्। उनले यस सडकले मकवानपुर र काठमाडौँ मात्र होइन, बाग्मती, मधेस र लुम्बिनी प्रदेशसँगको कनेक्टिभिटी मजबुत बनाउने बताउँदै, निर्माण कार्यमा कुनै अवरोध आउन नदिइनु आवश्यक रहेको उल्लेख गरे।

सडक विभागका महानिर्देशक डा. विजय जैसीले पनि ढिलासुस्ती नगरी निर्माण कार्यलाई तीव्रता दिने प्रतिबद्धता व्यक्त गरे। सङ्घीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौँका प्रमुख शुभराज न्यौपानेका अनुसार सो सडकको स्तरीकरणका लागि ठेक्का प्रक्रिया अगाडि बढिसकेको छ।

सडक डिभिजन काठमाडौँका प्रमुख नारायणदत्त भण्डारीका अनुसार यो सडक निर्माण दुई प्याकेजमा विभाजित गरी अघि बढाइएको छ, जसअन्तर्गत करिब ८.५ किलोमिटर खण्ड काठमाडौँ क्षेत्रमा पर्छ।

अनुगमन टोलीमा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडा, बुद्धिजीवी सङ्गठनका अध्यक्ष इञ्जिनियर गजेन्द्र थपलिया लगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij