२०८३ साउन ९ शनिबार

मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्र सकियो, ६ अर्ब २१ करोड लागत

ई आर्थिक    शुक्रबार, असार १३ २०८२
3.9K
Shares
मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्र सकियो, ६ अर्ब २१ करोड लागत

ई-आर्थिक, तनहुँ ।  मुग्लिन पोखरा सडकअन्तर्गत पूर्वी खण्डको कालोपत्रको काम सकिएपछि खुसियाली साटासाट गरिएको छ।

आँबुखैरेनीदेखि जामुनेसम्मको सडकअन्तर्गत चार लेनको कालोपत्र सकिएसँगै निर्माण कम्पनी चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले आज तनहुँको बन्दीपुर गाउँपालिका-४ विमलनगरमा एक कार्यक्रमको आयोजना गरी खुसी साटासाट गरेको हो।

उक्त कार्यक्रममा निर्माण कम्पनीका प्रतिनिधि, परामर्शदाता, कामदारलगायतको उपस्थिति थियो। मुग्लिन पोखरा सडक योजना (पूर्वी खण्ड) का इन्जिनियर विष्णुप्रसाद पाण्डेले कालोपत्रको मुख्य काम सकिएसँगै अनौपचारिक रुपमा कार्यक्रम गरी खुसी साटासाट गरिएको जानकारी दिए।

‘पूर्वी खण्डको आँबुखैरेनीदेखि जामुनेसम्मको चार लेनमा ‘डबल’ लेनमा कालोपत्र सकिएको छ, मुख्य काम सकिएको खुसियालीमा निर्माण कम्पनीले अनौपचारिक हिसाबले कार्यक्रम गरेको हो’ उनले भने।

पाण्डेका अनुसार पूर्वी खण्डमा अब ससाना काममात्रै बाँकी छ। ४१ दशमलव पाँच किलोमिटर दुरीको उक्त खण्डमा सडक सुरक्षा, सडक मार्किङलगायतका काम पनि भइरहेका छन्।

सम्झौता भएको तीन वर्ष र पछिल्लो ४५६ दिनको अवधिमा कालोपत्रको काम सकिएको उनको भनाइ छ। यो खण्डको अन्तिम म्याद आगामी असार २९ गतेसम्म रहेको छ।

पूर्वी खण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ बैशाख २ गतेदेखि काम सुरु भएको थियो। पूर्वी खण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ।

विसं २०२६ मा रेखांकन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक (एडीबी) को ऋण सहयोगमा सडक चार लेनको बनाइएको हो। पूर्वी खण्डको ठेक्का ६ अर्ब २१ करोड ३१ लाख १३ हजार रुपैयाँमा लागेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij