२०८३ साउन ९ शनिबार

 बजेट अभावले कञ्चनपुरका दुईवटा पुल निर्माणको काम प्रभावित, १४ करोड बजेट माग

ई आर्थिक    आइतबार, जेष्ठ २५ २०८२
3K
Shares
 बजेट अभावले कञ्चनपुरका दुईवटा पुल निर्माणको काम प्रभावित, १४ करोड बजेट माग

ई-आर्थिक, कञ्चनपुर ।  बजेट अभावले कञ्चनपुरमा दुईवटा पुल निर्माणको काम प्रभावित भएको छ।

कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली-पर्सिया जोड्ने दोदा नदीको पुल र बेदकोट नगरपालिका-७ स्थित मुसेपानी खोला पुलको काम बजेट अभावले प्रभावित बनेको महेन्द्रनगरस्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर हरिशप्रसाद जोशीले जानकारी दिए।

दोदा नदीमा पुल निर्माणका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीसँग २४ करोड २२ लाख ५७ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निर्माणको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ।

‘पुल निर्माणको काम ७५ प्रतिशत सम्पन्न भएको छ’, सूचना अधिकारी जोशीले भने, ‘बजेट अभावले काम प्रभावित भएको छ, हामीले १० करोड रूपैयाँ बजेट माग गरेका छौँ।’

त्यसैगरी, मुसेपानी खोला पुलमा बजेट नहुँदा पहुँचमार्ग निर्माण हुन सकेको छैन। पुल निर्माणको ९२ प्रतिशत काम सम्पन्न भए पनि बजेट अभावले पहुँचमार्ग निर्माण हुन नसकेको सूचना अधिकारी जोशीले बताए।

उनका अनुसार २०७४ साल जेठ १० गते १५ करोड ४३ लाख रूपैयाँमा राजेन्द्र लुम्बिनी जेभीसँग २०७७ जेठ १० मा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएको थियो।

समयमा पुल निर्माण हुन नसक्दा पाँचपटक म्याद थप भएर २०८१ पुसभित्र सम्पन्न गरिसक्नुपर्ने समयावधि भए पनि बजेट अभावले निर्माण सम्पन्न हुन नसकेको हो। पुलको बाँकी काम सम्पन्न गर्नका लागि चार करोड रूपैयाँ बजेट माग गरिएको सूचना अधिकारी जोशीले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij