२०८३ साउन ९ शनिबार

ट्राफिक प्रहरीहरूलाई अगाडि राखेर युवाहरूले सुनाए दर्जनौं गुनासा, सोधे ‘लुकेर चेकिङ्ग किन ?’

ई आर्थिक    आइतबार, जेष्ठ ४ २०८२
4.2K
Shares
ट्राफिक प्रहरीहरूलाई अगाडि राखेर युवाहरूले सुनाए दर्जनौं गुनासा, सोधे ‘लुकेर चेकिङ्ग किन ?’

सामाजिक कार्यमा श्री दक्षिणकाली युवा समूहको सक्रियता

ई–आर्थिक, भक्तपुर । भक्तपुरको ताथलीका युवाहरुले करिब दर्जन ट्राफिक प्रहरीलाई अगाडि राखेर उतिनै संख्यामा गुनासा र प्रश्न गरेका छन् । स्थानीय श्री दक्षिणकाली युवा समूहले एक कार्यक्रमको आयोजना गरेर ट्राफिक प्रहरीलाई उक्त गुनासो गरेका हुन् । च्यामासिंहबाट ताथली हुँदै नाला जाने सडकबाट सडक दुर्घटना ह्वात्तै बढ्न थालेपछि उक्त युवा समूहले आयोजना गरेको कार्यक्रममा युवाहरुले ट्राफिक प्रहरीसँग गुनासै गुनासा गरेका हुन् ।

ट्राफिक प्रहरीसँग सहकार्य गरेर जनचेतनामूलक विषयबस्तु समेट्ने उद्देश्य राखेको उक्त कार्यक्रममा जव युवाहरुको हातमा माइक जान्छ त्यसपछि सुरु हुन्छ ट्राफिक प्रहरीसँग गुनासो । आयोजक संस्था श्री दक्षिणकाली युवा समूहका सदस्य सदेश खड्काले ट्राफिक प्रहरीलाई पहिला प्रश्न

गरे ‘लुकेर चेकिङ किन ? ट्राफिक प्रहरीसँग उनको प्रश्न लुकेर चेकिङ्ग गर्दा हुने दुर्घटनासँग सम्बन्धित थियो । आफ्नो हिसावले सडकमा गुडिरहेका सवारी यात्रुलाई ट्राफिक प्रहरीले लुकेर चेकिङ्ग गर्दा धेरै दुर्घटना भइरहेको उनको प्रश्नको आसय थियो ।

त्यसपछि आयोजक संस्था दक्षिणकाली युवा समूहका अध्यक्ष सुरेशराज गिरीले समाज र समुदायप्रति सरोकारवालाको ध्यान सुन्य प्रायः भएको भन्दै गुनासो पोखे । उनको गुनासो सडक दुर्घटनाबाट बचाउने र सडक व्यवस्थित गर्न कार्यमा ट्राफिक प्रहरीले भूमिका निर्वाह गर्न नसकेको प्रति लक्षित थियो । दैनिक सयौंको संख्यामा ओहोर दोहोर गर्ने सडकमा जेब्रा क्रसिङ खोई ?, ट्राफिक संकेत बत्ति खोई ? व्यवसायिक प्रयोजनका सामानहरु सडकपेटिमा यत्र तत्र छरिएर किन राख्न दिएको ? यसबाट सिर्जित दुर्घटनाको क्षतिपूर्ति कसले व्यहोर्ने ? जस्ता धेरै उनका प्रश्न ट्राफिक प्रहरीसँग सम्बन्धित थिए ।

सर्वसाधारणको समस्यामा त सरकारै नभएको अध्यक्ष गिरीको आरोप थियो । ‘ताथली–नाला सडक आसपासका अधिकांश विजुलीका पोल ९० डिग्रीमा छैनन्, बत्ति गएको गएै गर्छ, सडकमा खाल्डा खुल्डीहरु मात्रै छन्, दैनिक दुई चारवटा दुर्घटना हुन्छ ।’ उनले भने–‘जहाँ सर्वसाधारणका समस्यै समस्या छन् । त्यहाँ केही हुँदैन भने सरकार कहाँ छ त ?’ सरकारले नगरेपनि दक्षिणकाली युवा समूहले निरन्तर सामाजिक कार्य गरिराख्ने उनले बताए । कार्यक्रममा बत्तिको समस्या समाधानको पहल पनि दक्षिणकाली युवा समूहले थाल्ने उनले जानकारी गराए ।

कार्यक्रमका अतिथि चागुनारायण नगरपालिका वडा नं. ९ का अध्यक्ष गणेश त्यातले पनि समन्वय र सचेतनाको अभावमा ताथली सडकमा दुर्घटना बढिरहेको स्वीकारे । समन्वयको अभाव भन्ने शब्द उनको पनि ट्राफिक प्रहरी लक्षित नै थियो ।

ताथली–नाला सडक अरनिको राजमार्गको बैकल्पिक सडक भएकाले पनि सवारी आवगमनसँगै दुर्घटना बढेको उनको बुझाई छ । दुर्घटना बाजा बजाएर नआउने भएकाले दुर्घटनाबाट बच्न सबै सचेत हुनुपर्नेमा उनको जोड छ । त्यस्तै सडक दुर्घटना कम गर्न स्थानीय सरकार सबै निकायसँग सहकार्य गर्न तयारी रहेको पनि उनले सुनाए । ट्राफिक प्रहरीका गतिविधिले जनगुनासो बढेको पनि उनले बताए । अध्यक्ष त्यातले भने– ‘चालक पिटेका सम्मका घटना देखिन्छन, सुनिन्छन् जुन, राम्रो होइन् ।’ सडक दुर्घटना कम गराउन सडक सुधारको लागि बजेट व्यवस्थापन भइसकेको भन्दै उनले स्थानीयस्तरका हरेक समस्यामा वडाले सक्रियता बढाउने प्रतिबद्धता जनाए ।

ट्राफिक प्रहरी प्रभाग कमलविनायकका ताराबहादुर खड्काले सडक दुर्घटना न्यूनिकरणका लागि सहकार्य गर्न आफूहरु तयार रहेको भन्दै सहयोगको लागि सबैसँग अपिल गरे ।

पत्रकार हरिसुन्दर छुकांले सडक दुर्घटना न्यूनिकरण गर्न सञ्चार क्षेत्रबाट सहयोग गर्न आफूहरु तयार रहेको बताए ।

कार्यक्रमका संयोजक नबिन बस्नेतले स्वागत मन्तव्य व्यक्त गर्दै सडक दुर्घटना न्यूनिकरणका लागि सम्बन्धित निकायहरुले चासो नदेखाएकै कारण दुर्घटना बढ्न थालेपछि दक्षिणकाली युवा समूहले कार्यक्रम आयोजना गरेको बताए । सडक दुर्घटना न्यूनीकरण गर्ने, सडक अनुशासन कायम गर्ने, सर्वसाधारणमा जागरण तथा जनचेतना जगाउने उद्देश्य कार्यक्रमको रहेको उनले सुनाए ।

कार्यक्रममा स्थानीय व्यवसायी तथा समाजसेवीले प्रायोजन गरेको २९ वटा जनचेतनामुलक सडक बोर्ड ट्राफिक प्रहरीलाई हस्तान्तरण गरिएको थियो ।

ट्राफिक प्रहरी प्रभाग कमलविनायकको समन्वयमा गरिएको कार्यक्रममा फैढोकादेखि ताथलीसम्म जनचेतनामूलक ¥यालि निकालिएको थियो ।

कार्यक्रममा चागुनारायण नगरपालिकाका प्रमुख जीवन खत्री, बागमती प्रदेश सभा सदस्य सुरेश श्रेष्ठ, वडा नं. ८ का अध्यक्ष तथा नगर प्रवक्ता जनक खत्री, कार्यपालिका सदस्य कमला भारती गिरीलगायतलाई आमन्त्रिण गरिएको थियो ।

सो युवा समूहका सदस्य घनश्याम खड्काले कार्यक्रम सञ्चालन गरेका थिए भने स्थानीय व्यवसायी तथा युवा समूहका सदस्य ईश्वर खड्काले कार्यक्रममा सहभागीहरुलाई धन्यवाद ज्ञापन गरेका थिए । कार्यक्रममा सोही समूहका सदस्य राजकुमार बस्नेत र गणेश माविकी छात्रा असलीमाया तामाङले आफ्ना भनाइहरु राखेका थिए ।

वर्षाका कारण सूर्यविनायक–जगाति हुँदै काभ्रेपलाञ्चोक जाने निर्माणाधीन सडकमा सवारी आवागमनमा समस्या देखिएपछि उक्त सडकमा हिड्ने सयौं सवारीसाधान सुरक्षित यात्राको लागि अहिले ताथली–नाला सडक प्रयोग गरिरहेका छन् । साना ठूला गरी सयौं निजी तथा भाडाका सवारीसाधानहरुले उक्त सडकलाई यात्राको माध्यम बनाई रहेका छन् । त्यसैपनि खाल्डाखुल्डीवाला सडक, अव्यस्थित घर टहरा र विजुलीका पोल अनि व्यवसायीका यत्रतत्र छरिएका सामानहरुका कारण दैनिक जसो सडक दुर्घटना भइरहेको उक्त सडकमा अहिले थप सवारीसाधन गुडन थालेपछि दुर्घटनाको संख्या ह्वात्तै बढिरहेको छ । यसै विषयलाई मध्यनजर गर्दै स्थानीय युवा समूहले उक्त कार्यक्रम आयोजना गरेका थिए । यो समूहले यसअघि यस्ता थुप्रै समसामयिक सामाजिक कार्य गर्दै आएको छ । आगामी दिनमा समेत त्यस्ता सामाजिक कार्यलाई निरन्तरता दिने सो समूहका अध्यक्ष गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij