२०८३ साउन ९ शनिबार

पुल सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माण हुँदै, २४ करोड रूपैयाँमा ठेक्का सम्झौता

ई आर्थिक    आइतबार, बैशाख ७ २०८२
4.6K
Shares
पुल सम्झौता भएको नौ वर्षपछि दोदा नदीको पुल निर्माण हुँदै, २४ करोड रूपैयाँमा ठेक्का सम्झौता

ई-आर्थिक,  कञ्चनपुर ।  कञ्चनपुरको कृष्णपुर नगरपालिका र लालझाडी गाउँपालिका भुली पर्सिया जोड्ने दोदा नदीको पुल सम्झौता भएको नौ वर्षपछि निर्माण हुँदैछ।

पुल निमार्णका लागि २०७२ पुसमा लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभी कैलालीसँग २४ करोड २२ लाख ५७ हजार रूपैयाँमा ठेक्का सम्झौता भएको थियो। सम्झौताअनुसार पुल निमार्णको काम २०७५ पुससम्म सम्पन्न गर्नुपर्ने भए पनि सम्झौता भएको नौ वर्षपछि पुल निर्माण हुन लागेको छ।

डिभिजन सडक कार्यालयका सबइन्जिनियर भोजराज रानाका अनुसार पुल निमार्णको सम्झौताअनुरुप त्यतिबेला काम सुरु भएर तीन पिलरसम्म निर्माण भएका थिए। तर पुलको फाउन्डेसनमा समस्या देखिएपछि पुल निर्माण हुन नौ वर्ष लाग्यो। पिलरको फाउन्डेसनमै समस्या देखिएपछि लागत नबढ्ने गरी डिजाइन परिवर्तन गरेर अर्को स्थानमा पुल निर्माण गर्नुपरेको उनले बताए।

पुल निर्माणका लागि २०७२ सालमा सम्झौता भए पनि पुलको फाउन्डेसनमा समस्या आएकाले पुनः डिजाइन परिर्वतन गरेर अर्को स्थानमा पुल बनाउनुपर्ने हुँदा निर्माणमा ढिलाइ भएको सबइन्जिनियर रानाले बताए। उनले भने, ‘अहिले पुल निमार्णको काम तीव्रगतिमा भइरहेको छ असारसम्म सक्ने तयारी छ।’

सम्झौताअनुसार पुल निमार्णको काम आगामी माघमा सक्नुपर्ने छ। पुल निर्माण कम्पनी लुम्बिनी राजेन्द्रकुमार श्रेष्ठ जेभीका इन्जिनियर किशोरराज पाण्डेयले पुलको ६० प्रतिशत काम सम्पन्न भइसकेको जानकारी दिए।

दोदा नदीमा पुल नहुँदा वर्षौँदेखि यहाँका स्थानीयवासीले आवतजावतमा समस्या झेल्दै आएका छन्। बर्खायाममा ज्यान जोखिममा राखेर खोला तर्नुपर्ने बाध्यता रहेको स्थानीय बताउँछन्। खोलामा पुल नहुँदा नदी तर्ने क्रममा केही वर्ष अगाडि लालझाँडीका दुई जनाले ज्यान गुमाइसकेको स्थानीय रघुवीर राना बताउँछन्।

‘नदीपारि बसाइ र वारि खेतबारीको काम गनुपर्ने भएकाले ज्यान जोखिममै राखेर बर्खामा नदी तर्नुपर्थ्यो’, उनले भने, ‘अहिले त पुल आधा बनिसक्यो, हामी खुसी छौँ।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij