ई-आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले पाँच सय रुपैयाँदरको १ खर्ब १५ अर्ब रुपैयाँ बराबरको नोट छाप्ने भएको छ । केन्द्रिय बैंकले पाँच सय रूपैयाँ दरका २३ करोड वटा नोट छाप्न लागेको जानकारी दियो । राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि बोलपत्र २५ अप्रिलमा प्रि बिडिङ हुने र १४ मेसम्म बिडिङको लागि समय बोलपत्र आह्वान गरेको छ ।
अन्तर्राष्ट्रिय ईच्छुक कम्पनीहरुले १४ मे सम्म आवेदन दिन सक्ने केन्द्रीय बैंकले बतायो । नोट छाप्न धरौटीको रूपमा तीन करोड ५० लाख राख्नुपर्ने हुन्छ।
नोट छाप्नको लागि यसअघि नै पहिलो चरणमा ६ कम्पनी छनोट भएका छन्। राष्ट्र बैंकले नोट छपाइका लागि पूर्व योग्यता पूरा गर्ने कम्पनीमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरसन, बेलायतको डे ला रुई इन्टरनेसन लिमिटेड, जर्मनीको जिसेकी प्लस डेभ्रिएन्ट करेन्सी टेक्नोलोजी, रुसको जोइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको अवेर्थर फिडुसियर र पोल्याण्डको पोलीस सेक्युरीटी प्रिन्टिङ वर्कस् छनोट गरेको थियो । ति ६ वटा कम्पनीलाई गोप्य बोलपत्र प्रस्ताव माग भएको छ ।