ई–आर्थिक, रामेछाप । रामेछापको गोकुलगंगा युवा सञ्जालको आयोजनामा बागमती प्रदेशस्तरीय अन्तर–पालिका पुरुष भलिवल प्रतियोगिता सुरु भएको छ । ‘गोकुलगंगा च्याम्पियनशिप–२०८१’ को नामबाट आयोजना गरिएको उक्त प्रतियोगितामा बागमतीभरका १२ समूहबीच प्रतिस्पर्धा हुने गोकुलगंगा युवा सञ्जालका अध्यक्ष अनुज खड्काले जानकारी दिए । ‘युवाहरुको उर्जा नै प्रगतिको मूख्य शक्ति हो’ भन्ने मूल नारासहित सो प्रतियोगितामा आयोजक संस्था गोकुलगंगा युवा सञ्जालले पनि प्रतिस्पर्धा गर्दैछ ।
प्रतियोगिता उद्घाटनको पूर्वसन्ध्यामा स्थानीय युवाहरुले मोटरसाइकल ¥यालि गरेका थिए ।
खेलकुद क्षेत्रको माध्यमबाट गोकुलगंगा, रामेछापको सामाजिक, धार्मिक, सास्कृतिक तथा पर्यटकीय क्षेत्रहरुको प्रचार प्रसार गरी पर्यटन प्रबर्द्धन गर्ने, प्रतियोगितामा समावेश उत्कृष्ट खेलाडीहरुको पहिचान गरी उनीहरुलाई अन्य उच्चस्तरको प्रतियोगितामा छनौटको लागि प्रतिभा प्रदर्शनको अवसर प्रदान गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको हो । त्यसैगरी गौरब, सामाजिक सम्बन्ध तथा एकताको सन्देश दिने जस्ता उद्देश्यले पनि उक्त च्याम्पियनशिपको आयोजना गरिएको हो । यो प्रतियोगिताले स्थानीय खेलाडीको आत्मवल बढाउँदै उनीहरुलाई हौसला सञ्चार गराउने विश्वास अध्यक्ष खड्काले लिए ।
खेल प्रतिस्पर्धात्मक र रोचक हुने भन्दै आयोजक संस्थाले अवलोकनका लागि आग्रह गरेको छ ।

प्रतियोगितामा प्रथम हुने टिमले १ लाख ५१ हजार १११, द्वितीय हुने टिमले १ लाख १ हजार १११ र तृतीय हुने टिमले ५१ हजार १११ रुपैयाँ आकर्षक पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी सान्त्वना पुरस्कार स्वरुप २५ हजार १११ प्रदान गरिनेछ भने उत्कृष्ट खेलाडीलाई ७ हजार ५०० रुपैयाँ प्रदान गरिने भएको छ । त्यस्तै उत्कृष्ट स्पाईकर, सेटर, डिफेन्डर, ब्लकर, सर्भर, कोचलाई जनही ५००० रुपैयाँका दरले प्रदान गरिने छ ।
गोकुलगंगा–१ चुचुरे (गर्जाङ) मा आयोजना गरिएको उक्त च्याम्पियनशिपको वागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले उद्घाटन गरेका थिए । प्रमुख अतिथिकाको रुपमा कार्यक्रमको उद्घाटन गर्दै मन्त्री काफ्लेले खेल जगतको विकास गर्न प्रदेश सरकार सँधै प्रतिबद्ध रहेको बताए । यस्ता खेल प्रतियोगिताका कारण स्थानीय पर्यटकीय गन्तव्यहरुको पहिचान र प्रबर्द्धनमा सघाउ पुग्ने उनले विश्वास लिए ।
सो कार्यक्रममा बोल्दै उनले आगामी बजेटमा जट्टेश्वरी मा.बि.को कम्पाउण्ड घेराबार गर्नको लागि बजेट व्यवस्था गरिने बताए । त्यसैगरी गर्जाङ जाने बाटोमा पर्ने चाके खोलामा मोटरेबल पुलको लागि बजेट व्यवस्थापन गरिदिने समेत उनले घोषणा गरे ।
यही फागुन १७ गते सम्पन्न हुने उक्त प्रतियोगिताको समापन नेपाल सरकारका उर्जा जलस्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम) ले गर्नेछन् ।
