२०८३ साउन ९ शनिबार

बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, माघदेखि लागू हुने

ई आर्थिक    बिहिबार, पौस २५ २०८१
8.3K
Shares
बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य, माघदेखि लागू हुने

ई–आर्थिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको छ। केन्द्रीय बैंकले एकीकृत निर्देशन २०८० संशोधन तथा परिमार्जन गर्दै माघ एक गतेदेखि लागू हुने गरी बैंकिङ प्रणालीमा राष्ट्रिय परिचय पत्र अनिवार्य गरेको हो।

यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत् बैंकको खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य भनेपनि कार्यान्वयन भएको थिएन। जसालाई केन्द्रीय बैंकले माघ एक गतेदेखि नयाँ खाता खोल्न तथा पुरानोलाईसमेत राष्ट्रिय परिचय पत्रकै आधारमा ग्राहकको पहिचान तथा पुष्टि गर्न बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ।

संशोधित निर्देशिकामा भनिएको छ, ‘बैंक तथा वित्तीय संस्थाले माघ एक गतेदेखि राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेखमा रहेको विवरणको पहुँचको आधारमा राष्ट्रिय परिचय पत्रका आधारमा खाता खोल्ने अनिवार्य व्यवस्था मिलाउनुपर्नेछ।’

बैंक तथा वित्तीय संस्थाले आफ्नो ग्राहक उच्च पदस्थका व्यक्ति वा नजिकको सम्बन्ध भए नभएको एकिन आफूसँग ग्राहकबाट जानकारी लिनुपर्नेछ। यस्ता ग्राहकको खातामा राष्ट्रिय परिचय पत्रको विवरण ०८१ माघ एक गतेसम्म गर्न केन्द्रीय बैंकले निर्देशन दिएको छ।

साथै, बैंक तथा वित्तीय संस्थाको खाता खोल्दा ग्राहकले उपलब्ध गराएको नम्बरको विवरण निज ग्राहककै रहे नरहेको, निहित जोखिमका आधारमा संस्थाले आवश्यक पहिचान पद्धती अवलम्बन गर्नुपर्ने संशोधित निर्देशिकामा उल्लेख छ। केन्द्रीय बैंकले खाता बहाकलाई बैंक तथा वित्तीय संस्थाले दिने सेवामा जोडिने व्यक्तिको मोबाइल नम्बर निजकै नाममा जारी भएको हुनपर्ने व्यवस्था गर्न लागेको हो।

ग्राहक पहिचान गर्दा वा ग्राहकको विवरण अद्यावधिक गर्दा राष्ट्रिय जोखिम मुल्याङ्कन र पारस्परिक मुल्याङ्कन प्रतिवेदन २०२३ ले औल्याएका जोखिमयुक्त सम्बद्ध कसुर जस्तैः भष्ट्राचार, कर छली, मानव बेचबिखन एवं अन्य जोखिमयुक्त सम्बद्ध कसुरहरु र क्यासिनो वा इन्टरनेट क्यासिनो व्यवसायी, बहुमूल्य धातु वा वस्तु व्यवसायी, घरजग्गा खरिद/बिक्री व्यवसायी तथा सहकारीहरुको खाता र आवद्ध व्यक्तिहरुको पहिचान र निजहरुको कारोबारलाई प्राथमिकतामा राखी अनुगमन गर्नुपर्ने जनाइएको छ। उल्लेखित व्यवस्था क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थासँगै पूर्वाधार विकास बैंकका लागि पनि गरिएको हो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij