ई–आर्थिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल अझै पूर्ण रुपमा सञ्चालनमा नआएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।
होटल संघ नेपाल (हान) ले मंगलबार काठमाडौंमा आयोजना गरेको सत्कार दिवसको कार्यक्रममा बोल्दै राष्ट्रपति पौडेलले दुवै अन्तर्राष्ट्रिय विमानस्थलहरु पूर्ण रुपमा सञ्चालनमा आए बढी भन्दा बढी विदेशी पर्यटकहरु भित्र्याएर मुलुकलाई समृद्ध बनाउने काममा कठिनाई नहुने स्पष्ट पारे ।
उनले सो अन्तर्राष्ट्रिय विमानस्थलहरु छिट्टै पूर्ण रुपमा सञ्चालनमा आउनेमा आफू आशावादी रहेको समेत बताए । होटल क्षेत्र नेपालको अर्थतन्त्रको प्रमुख आधारको रुपमा रहेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले यसमार्फत राष्ट्रको समृद्धिका लागि ध्यान दिन पनि होटल व्यवसायीहरुलाई आग्रह गरे ।
उनले नेपालको रैथाने खानालाई सोझै कृषकहरुसँग सहकार्य गरेर पर्यटकहरुको सत्कारमा लगाउनसके त्यसले होटल क्षेत्रको विकासमा थप योगदान दिनसक्ने बताए । राष्ट्रपति पौडेलले नेपालको विशिष्टता, प्राकृतिक सौन्दर्यता, संस्कृति र सभ्यतालाई विश्व पर्यटन बजारमा प्रवर्द्धन गरी पर्यटन क्षेत्रलाई आयआर्जन र समृद्धिको आधारको रुपमा स्थापित गर्नुपर्नेमा जोड दिए ।