ई–आर्थिक, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) लगायत दलले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक केही समयका लागि स्थगन गरिएको छ । नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका विषयमा छलफल गर्नुपर्ने भन्दै एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीलगायतले नाराबाजी गरेपछि प्रतिनिधि सभाको बैठक स्थगन गरिएको हो ।
नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्री दाहालको हालैको भारत भ्रमणबारे विपक्षी दलहरूले जवाफ मागेका छन् । एमालेका प्रमुख सचेतक पदम गिरीले संवैधानिक प्रक्रिया अनुरूप संसद्मा नयाँ नागरिकता विधेयक दर्ता गर्न माग गर्नुभयो ।
संसद्मा नयाँ नागरिकता विधेयक दर्ता भएपछि दिनरात छलफल गरेर भए पनि एक हप्ताभित्र नयाँ विधेयक पारित गरेर नागरिकता प्रदान गर्ने काम अगाडि बढाउनुपर्नेमा उहाँले जोड दिनुभयो । सरकारले संविधानको मर्म विपरीत नागरिकता विधेयक ल्याएको प्रमुख सचेतक गिरीले आरोप लगाउनुभयो ।
नेकपा (एमाले) ले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएको विरोधमा राष्ट्रिय सभाको आजको बैठक अवरुद्ध पारेको छ । बैठक सुरु हुनेवित्तिकै एमालेका सांसदहरूले राष्ट्रपतिद्वारा प्रमाणीकरण भएको नागरिकता विधेयकबारे आपत्ति जनाउँदै उठेर अवरोध गर्नुभएको थियो ।
एमाले सांसद भैरव सुन्दर श्रेष्ठले राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण भएको भन्दै सच्याउनुपर्ने माग गर्नुभयो । “राष्ट्रपतिले नागरिकता विधेयकलाई प्रमाणीकरण गर्नुभएको छ, वंशजको आधारमा नागरिकता पाउनुपर्छ भन्ने विषयमा एमाले प्रष्ट छ, तर संसदलाई छलेर मन्त्रिपरिषद्को निर्णयबाट प्रमाणीकरणका निम्ति राष्ट्रपति समक्ष पठाउने काम आपत्तिजनक, गैर लोकतान्त्रिक र गैर संवैधानिक छ” उहाँले भन्नुभयो ।
उहाँले प्रधानमन्त्रीले विदेशी भूमिमा गएर देशको भूभाग साटफेर गर्ने भनी दिएको अभिव्यक्तिप्रति असहमति जनाउँदै एमालेका सांसदहरूले जवाफसमेत माग गर्नुभएको छ । एमालेका सांसदहरूले अवरोध गरेपछि बैठक २९ मिनेटका लागि स्थगित गरिएको छ ।