२०८३ साउन १२ मंगलबार

माया खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि भोली शुक्रवारदेखि

ई आर्थिक    बिहिबार, माघ १२ २०७९
6.9K
Shares
माया खोला हाइड्रोपावरको आईपीओ सर्वसाधारणका लागि भोली शुक्रवारदेखि

ई–आर्थिक, काठमाडौं । माया खोला हाइड्रोपावर कम्पनी लिमिटेडले शुक्रवारदेखि सर्वसाधारणका लागि आईपीओ विक्री खुला गर्ने भएकोे छ ।

आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली कामदारका लागि पहिलो चरणमा आईपीओ विक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ विक्री गर्न लागेको हो । जारी पूँजी १ अर्ब रूपैयाँको ३४ प्रतिशतले हुन आउने ३४ करोड रूपैयाँ बराबरको ३४ लाख कित्ता आईपीओ सर्वसाधारणमा निष्कासन गर्न कम्पनीले अनुमति पाएको थियो ।

सर्वसाधारमा निष्कासन गरिने कुल कित्ता शेयरमध्ये १० लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि र २ लाख ४० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि कम्पनीले निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।

त्यसबाहेक १ लाख २० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरिसकेको कम्पनीले ४८ हजार कित्ता शेयर कर्मचारीहरूका लागि छुट्याएको छ । कम्पनीले बाँकी १९ लाख ९२ हजार कित्ता शेयर सार्वजनिक निष्कासनमा ल्याउन लागेको हो । कम्पनीको सार्वजनिक निष्कासनमार्फत विक्री हुने आईपीओ १ लाख ९९ हजार २०० जना भाग्यमानी आवेदकहरूले १० कित्ताका दरले शेयर हात पार्नेछन् ।

यो आईपीओ माघ १७ गतेसम्म विक्रीमा रहनेछ । त्यो अवधिमा मागबमोजिम आवेदन नपरेमा माघ २७ गतेसम्म आवेदन दिने समय लम्बिनेछ । हाल सर्वसाधारणमा आईपीओ जारी गर्दा पहिलो दिनमै मागभन्दा बढी आवेदन पर्ने गरेकाले कम्पनीको आईपीओ माघ १७ गतेसम्म मात्र विक्रीमा रहने निश्चित छ ।

आईपीओ खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म माग गर्न सकिनेछ । आईपीओे निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । विक्री प्रबन्धकसँगै लगानीकर्ताले सी-आस्बा सदस्य सम्पूर्ण बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयसँगै मेरो शेयर सफ्टवेयर र एपमार्फत पनि आवेदन दिन सक्ने व्यवस्था छ ।

आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई वित्तीय दायित्व वहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्ने इक्रा एनपी इस्युअर डबल बी माइनस रेटिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij