२०८३ साउन १२ मंगलबार

पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्रीहरु को कस्ता ?

ई आर्थिक    मंगलबार, पौस १२ २०७९
7.9K
Shares
पुष्पकमल दाहाल नेतृत्वको सरकारका मन्त्रीहरु को कस्ता ?

पुष्पकमल दाहाल ‘प्रचण्ड’

प्रधानमन्त्री

एकीकृत ने.क.पा.(माओवादी)का अध्यक्ष प्रचण्ड को जन्म वि. सं. २०११ मंसिर २६ गते कास्की जिल्लाको ढिकुरपोखरी गाविस वडा नं. २ लेवाडेमा भएको हो । पिता मुक्तिराम र माता भवानीका जेठो छोरा प्रचण्डले आफ्नो प्रारम्भिक शिक्षा कास्कीको ढिकुर पोखरीमा नै लिनुभयो । २०२६ चितवनको नारायणी विद्या मन्दिर मा.वि. शिवनगरबाट एस.एल.सी. उत्तीर्ण भई २०२७–२०२९ पाटन बहुमुखी क्याम्पसबाट आई.एस.सी. पूरागरी २०३१–२०३३ सालमा रामपुर कृषि क्याम्पसबाट कृषिमा बि.एस्सी गर्नु भई एम.पी.ए.सम्मको अध्ययन गर्नु भएको छ । कक्षा १० माअध्ययनरत हुँदा छविलाल दाहाल नाम परिवर्तन गरी पुष्पकमल दाहाल नामाकरण गरिनुभएका प्रचण्डको वि.सं. २०३८ देखि २०६३ सम्म भूमिगत अवस्थामा रहँदा कल्याण, विश्वास, निर्माण र प्रचण्ड नाम रहेको थियो । हाल उहाँ आफू पुष्पकमल भन्दा प्रचण्ड भनिनुमा नै गौरव गर्नुहुन्छ ।

वि.सं. २०१९ मा ढिकुरपोखरी–२ बाट चितवन भरतपुरको शिवनगर गा.वि.स.मा बसाइ सराई गर्नु भएका प्रचण्डको वि.सं. २०२६ बैशाखमा सीता पौडेलस सँग विवाह भएको हो । उहाँका तीन छोरी र एक छोरा छन् । उहाँ नारायणी विद्या मन्दिर मा.वि.शिवनगर–२०२९ साल, डण्डा मा.वि.नवलपरासी र भीमोदय मा.वि., आरुघाट, गोरखा–२०३३–०३५ सालमा अध्यापन गरी २०३२ सालमा यु.एस.एड.मा सेवारत रहनु भएको थियो ।

वि.सं. २०२८ मा नेकपाको पुष्पलाल समूहमा पार्टीको सदस्यता बाट आफ्नो राजनैतिक जीवन प्रारम्भ गर्नुभएका प्रचण्डले बादल, मित्र दवाडी, खेम भण्डारी र पुष्प भुर्तेलससँग मिलेर २०३१ सालमा मार्क्सवादी अध्ययन समूह गठन गर्नुभएको थियो । उहाँ २०३४ सालमा चौथो महाधिवेशनमा प्रवेश गरी २०३५ सालमा पूर्णकालिन कार्यकर्ता र २०३६ सालमा चितवन जिल्ला समिति सदस्यमा निर्वाचित हुनु भएको थियो । उहाँ वि. सं. २०३८ मा क्षेत्रिय व्यूरो सदस्य एवं अखिल नेपाल युवक संघको केन्द्रीय समितिको महा-सचिव भई २०४० मा संघको केन्द्रीय अध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

विसं २०४१ मा नेकपा (मशाल)को पाँचौ महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित, २०४२ मा पोलिटब्युरो सदस्य, २०४६ मा महामन्त्री र २०४८ सालमा नेकपा (एकताकेन्द्र)को महामन्त्री हुनुभयो । यसैगरी २०५१ सालमा तत्कालीन नेकपा–एकता केन्द्रको प्रथम राष्ट्रिय सम्मेलन पछिको बसेको तेस्रो विस्तारित बैठकपछि पार्टीको नाम फेरेर नेकपा (माओवादी) राखेपछि महामन्त्री हुनुभएका प्रचण्डले २०५२ सालदेखि सुरु भएको जनयुद्धको नेतृत्व गर्नुभयो । २०५७ सालमा दोस्रो राष्ट्रिय सम्मेलनबाट नेकपा माओवादीको अध्यक्ष हुनुभयो ।

वि.सं. २०५८ माजनमुक्ति सेना नेपालको सर्वोच्च कमान्डर रहनुभएका प्रचण्ड २०६३ सालअसार २ गते बालुवाटारमा पत्रकार सम्मेलन गरी काठमाडौमा भूमिगत जीवनबाट सार्वजनिक हुनभएको थियो । २०६५ साल साउनमा गणतन्त्र नेपालको प्रथम प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो । २०६९ सालमा वृहत्तर लुम्बिनी विकास निर्देशक समितिको अध्यक्ष बन्नुभयो । २०६९ सालमा हेटौंडामा सम्पन्न राष्ट्रिय सम्मेलनबाट अध्यक्ष पदमा निर्वाचित हुनुभयो । २०७० सालमा विराटनगरमा सम्पन्न एकताको महाधिवेशनबाट पुनःअध्यक्ष पदमा निर्वाचित हुनुभयो । साथै उहां उच्चस्तरीय राजनीतिक समितिको संयोजकको भूमिका समेत निर्वाह गरिसक्नु भएको छ । अध्यक्ष प्रचण्डका नेपाली क्रान्तिका समस्या (भाग १, २ र ३), सांस्कृति, कला र सौन्र्दर्य चिन्तन, प्रचण्डका छानिएका रचनाहरु (खण्ड १ र २) तथा प्रचण्डका छानिएका सैन्य रचनाहरु लगायतका पुस्तक प्रकाशित छन् । उहाँ २०६४ सालमा सम्पन्न संविधानसभा निर्वाचनमा काठमाडौ–१० र रोल्पा–२ बाट निर्वाचित हुनुभएको थियो । संविधान सभाको दोस्रो निर्वाचन, २०७० मा सिरहा क्षेत्र नं.–५ बाट निर्वाचित पुष्पकमल दाहाल ‘प्रचण्ड’ २०७३।०४।१९ गते व्यवस्थापिका–संसदमा ३६३ सदस्यको बहुमत प्राप्त गरी नेपाल सरकारको ३९ औं प्रधानमन्त्रीमा निर्वाचित हुनुभएको थियो ।
त्यसैगरी हालै सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उहाँ गोरखा गोरखा क्षेत्र नं. २ बाट निर्वाचित हुनुभएको थियो ।
सरकार गठनका लागि प्रतिनिधिसभामा कुल १३८ सांसद चाहिनेमा अहिले बनेको गठबन्धनका सात दलका कुल सांसदको सङ्ख्या १६६ जना पुग्नेछ । यही सांसदको समर्थनमा उहाँ पुनः नेपालको प्रधानमन्त्री हुनुभएको छ ।

विष्णुप्रसाद पौडेल

नेपाल कम्युनिस्ट पार्टी (एमाले)बाट उपप्रधानसहित अर्थमन्त्रीको जिम्मेवारी पाएका विष्णुप्रसाद पौडेलको संसदीय राजनीति यात्रा २०५१ सालबाट सुरु भएको हो। उहाँ २०५१ सालमा पाल्पाको क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य बन्नुभएको थियो । पहिलो पटक पौडेल २०५४ सालमा युवा, खेलकुद तथा संस्कृतिमन्त्री हुनुभएको थियो। उहाँ २०५६ सालमा रुपन्देही क्षेत्र नम्बर ३ मा पराजित हुनुभयो।

२०६५ सालमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा जलस्रोतमन्त्री र झलनाथ खनालको नेतृत्वमा रक्षामन्त्रीको जिम्मेवारी पाउनुभयो। वि.सं. २०७२ को केपी शर्मा ओलीको नेतृत्व सरकारमा उहाँ अर्थमन्त्री बन्नुभएको थियो । रुपन्देही क्षेत्र नं. २ बाट पौडेल लगातार चार पटक सांसदमा निर्वाचित हुनुभएको छ।

नारायणकाजी श्रेष्ठ

पूर्वउपप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री एवं पूर्वगृहमन्त्रीसमेत रहनुभएका नारायणकाजी श्रेष्ठ पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारमा उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी सम्हाल्ने हुनुभएको छ । श्रेष्ठ सरकारका प्रवक्ता एवं संविधान सभा सदस्यको जिम्मेवारी सम्हाल्दै हाल राष्ट्रिय सभा सदस्य हुनुहुन्छ।

प्रतिनिधि सभाको निर्वाचन २०७४ मा गोरखाबाट डा. बाबुराम भट्टराईसँग पराजित भए पनि हाल भने राष्ट्रिय सभा सदस्य हुनुहुन्छ। पार्टीमा उहाँको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी छ।

गोरखाको जौबारीमा २०१६ सालमा जन्मनुभएका श्रेष्ठ २०६२/६३ को जनआन्दोलनका बेलासम्म भूमिगत जीवनमै हुनुहुन्थ्यो। त्यसपछि मात्र उहाँ सार्वजनिक हुनुभएको हो। २०३३ सालदेखि राजनीतिमा सक्रिय उहाँ २०४३ सालमा निर्मल लामा नेतृत्वको नेकपा (चौम)को केन्द्रीय सदस्य, २०४८ सालमा ‘प्रचण्ड’सँगको एकतापछि बनेको नेकपा –एकताकेन्द्र)मा पोलिटब्युरो सदस्यको जिम्मेवारीमा हुनुहुन्थ्यो।

रवि लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने उपप्रधान एवं गृहमन्त्री हुनुभएको छ। २०७९ सालमा सम्पन्न भएको प्रतिनिधि सभा निर्वाचनमा उहाँ चितवन २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

राजनीतिमा प्रवेश गर्नुअघि उहाँ टेलिभिजन प्रस्तोता हुनुहुन्थ्यो।

२०७० सालमा न्युज ट्वान्टी फोर टेलिभिजनमा निरन्तर ६० घण्टाभन्दा बढी समय टेलिभिजन अन्तर्वार्ता चलाएर उहाँले गिनिज वल्र्ड रेकर्ड कायम गर्नुभएको थियो । २०७९ सालमा लामिछानेले ग्यालेक्सी फोरके टेलिभिजनको प्रबन्ध निर्देशकको पदबाट राजीनामा दिएर राष्ट्रिय स्वतन्त्र पार्टी गठन गर्दै प्रतिनिधि सभा निर्वाचनमा होमिनुभएको हो। ४७ वर्षीय लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको नेतासमेत हुनुहुन्छ।

ज्वालाकुमारी साह

नेकपा (एमाले)बाट मन्त्री बन्नुभएकी ज्वालाकुमारी साह बारा क्षेत्र नं. ३ बाट विजयी हुनुभएको हो। २०३८ सालमा जन्मनुभएकी साह २०५४ सालदेखि भूमिगत भएर नेकपा (माओवादी)को विद्यार्थी जीवनबाट राजनीति सुरु गर्नुभएको थियो। पहिलो संविधान सभामा मनोनीत सदस्य र २०७४ मा मधेश प्रदेशको सदस्यमा बारा क्षेत्र नं. ३ (क)मा निर्वाचित हुनुभएको थियो।

२०६७ सालमा भूमिसुधार राज्यमन्त्री, २०६८ मा पर्यटन राज्यमन्त्री र पछिल्लो पटक केपी शर्मा ओली नेतृत्वको सरकारमा मात्र १३ दिन कृषिमन्त्रीको जिम्मेवारी लिनुभएको थियो। उहाँ नेकपा विभाजनपछि नेकपा (एमाले)लाई रोज्नुभएको थियो।

दामोदर भण्डारी

नेकपा (एमाले)का दामोदर भण्डारी बैतडीबाट निर्वाचित सांसद हुनुहुन्छ। २०४६ सालको जनआन्दोलनबाट प्रभावित भई राजनीतिमा आबद्ध हुनुभएका भण्डारी २०४८ सालमा अनेरास्ववियु बैतडी जिल्ला कमिटीको अध्यक्ष बन्नुभएको थियो।

२०५० सालमा नेकपा (एमाले)को बैतडी जिल्ला कमिटी सदस्य, २०५४ सालमा जिल्ला कमिटी उपसचिव र २०५६ देखि २०६४ सम्म एमाले बैतडीको पार्टी प्रमुख (सचिव) हुँदै अध्यक्षसमेत बन्नुभयो । २०७५ सालमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सुदूरपश्चिम प्रदेश कमिटी सदस्य रहनुभएका हाल नेकपा (एमाले) सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्षसमेत हुनुहुन्छ। संविधान सभा सदस्य निर्वाचन २०७० मा बैतडी संविधान सभा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित हुनुभएको भण्डारी प्रतिनिधि सभा सदस्य निर्वाचन २०७४ मा बैतडीबाट विजयी हुनुभएको थियो। २०७३ सालमा अर्थराज्यमन्त्री हुनुभएको थियो।

राजेन्द्रकुमार राई

राजेन्द्रकुमार राईको जन्म धनकुटाको तत्कालीन मुगा गाउँ पञ्चायतमा २०२२ साल भदौ २९ गते भएको हो। २०४९ सालमा जनप्रतिनिधिका रूपमा जिल्ला विकास समितिको सदस्यमा विजयी हुनुभएको उहाँ २०५४ सालमा जिविस उपसभापतिमा निर्वाचित हुनुभयो।

धनकुटा सदरमुकामको माथिल्लो गोकुण्डेश्वर मावि पढ्ने क्रममा राई अनेरास्ववियुमा सङ्गठित हुनुभएको थियो। २०३६ सालमा काठमाडौँमा भएको अनेरास्ववियुको एकताको पाँचौँ राष्ट्रिय सम्मेलनमा राई देशभरका प्रतिनिधिमध्ये सबैभन्दा कान्छा प्रतिनिधि हुनुभयो। २०६६ साल असारमा भएको जिल्ला अधिवेशनबाट एमाले धनकुटा जिल्ला अध्यक्ष निर्वाचित बन्नुभएको थियो। उहाँले एमालेको धनकुटाको २ कार्यकाल नेतृत्व गर्नुभएको थियो। २०७० सालमा भएको दोस्रो संविधान सभा

निर्वाचनमा धनकुटा क्षेत्र नं. २ मा पराजित हुनुभएको थियो। २०७४ सालको स्थानीय निर्वाचनमा धनकुटाका सातवटै तह आफ्नो पार्टीलाई जिताएर राईले एमाले अध्यक्ष केपी ओलीबाट म्यान अफ दी इलेक्सनको उपाधि पाउनुभएको थियो। २०७४ सालमा भएको प्रतिनिधि सभा निर्वाचनमा उहाँ विजयी हुनुभयो।

अब्दुल खान

भर्खरै सम्पन्न भएको निर्वाचनमा मधेशमा उदाएको जनमत पार्टीले सरकारमा बिनाविभागीय मन्त्री पाएको छ। अध्यक्ष सीके राउत आफैँ सरकारमा सहभागी नहुने भएपछि जनमत पार्टीले उपाध्यक्ष अब्दुल खानलाई सरकारमा पठाएको हो।

बर्दियाको गुलरियामा जन्मिनुभएका खान सो पार्टीबाट समानुपातिक सांसद हुनुहुन्छ। २०६८ सालमा काठमाडौँको अनामनगरमा प्रथम पटक डा. सीके राउतको दुई दिने कार्यक्रममा स्वयंसेवकका रूपमा उहाँ सहभागी हुनुभएको थियो। त्यसपछि काठमाडौँदेखि मधेशका विभिन्न जिल्लामा राउतको विशेष सहयोगीका रूपमा भेटघाट, छलफल उहाँकै नेतृत्वमा भएको थियो। २०७७ सालमा जनमत पार्टीको महाधिवेशनमा खान अत्यधिक मत प्राप्त गरी उपाध्यक्षमा चुनिनुभयो। ३६ वर्षका खानलाई यसअघि जनमत पार्टीले संसदीय दलको उपनेता बनाएको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij