ई–आर्थिक, काठमाडौं । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका उम्मेदवार र राजनीतिक दलले आफ्नो चुनावी अभियानमा गरिने प्रचार प्रसार बिहीबार मध्यरातसम्म मात्रै गर्न पाउने भएका छन् । निर्वाचन कसुर तथा सजाय ऐनमा मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना पूरा नभएसम्म कुनै उम्मेदवार र राजनीतिक दलको पक्ष वा विपक्षमा मत माग्न नपाउने कानुनी व्यवस्था रहेको छ । दल तथा उम्मेदवारले चुनाव प्रचार कात्तिक १७ देखि सुरु गरेका थिए ।
निर्वाचन आयोगले बिहीबार मध्यरातपछिको अवधिलाई विशेष समयका रूपमा व्याख्या गरेको छ । विगतमा यसलाई मौन अवधि भनिन्थ्यो । कानुनमा मौन अवधि भनिएको छैन । शून्य समय पनि भनिन्थ्यो । तर, ४८ घण्टा भनेको स्थिर समय हो ।
आइतबार बिहान ७ बजे मतदान सुरु हुने भएकाले बिहीबार राति १२ बजेबाट निर्वाचनको प्रचारप्रसार निषेध गर्ने निर्वाचन आयोगले जानकारी दिएको छ । यस अवधिमा राजनीतिक दलका पदाधिकारी, उम्मेदवार, दलको भ्रातृ संगठनले निर्वाचन प्रचारलगायत कुनै पनि प्रकारका छलफल, अन्तर्क्रिया, सभासम्मेलन, कार्यशाला, गोष्ठी गर्न पाउने छैनन् ।
निर्वाचन आचारसंहिताअनुसार बिहीबार मध्यरातदेखि सामाजिक सञ्जाल, अनलाइन, छापा कुनै पनि माध्यमबाट राजनीतिक दल र उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना प्रचारका सामग्री पोस्ट, सेयर गर्न पाइने छैन । मतदानस्थलको तीन सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार सामग्री पनि हटाउनुपर्ने हुन्छ । कुनै पनि तरिकाले मत माग्न र निर्वाचन प्रचार गर्न नहुने व्यवस्था आचारसंहितामै रहेकाले पालना गर्न आयोगले सबै दल तथा उम्मेद्वारहरुलाई आग्रह गरेको छ ।
निर्वाचन सुरक्षाका लागि भन्दै निर्वाचन हुनु ७२ घण्टाअघि अर्थात् बुधबार राति १२ बजेदेखि मुलुकका सबै नाका बन्द गरिने भएको छ । बन्द नाका मतदान सकिएपछि मात्रै खुला गर्ने अभ्यास छ । मुलुकको सुरक्षा अवस्था र निर्वाचन सुरक्षा तयारीबारे सुरक्षा निकायले निर्वाचन आयोगका पदाधिकारीलाई जानकारी गराइसकेका छन् ।
निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिदेखि मदिरा बिक्री वितरणमा समेत रोक लगाउने निर्णय आयोगले बुधबार गर्दै छ । प्रतिनिधिसभाका १ सय ६५ सिटमा २ हजार ४ सय १२ र सातै प्रदेशका ३ सय ३० सिटका लागि ३ हजार २ सय २३ उम्मेदवार छन् । १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताका लागि आयोगले १० हजार ८ सय ९२ मतदानस्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र तोकेको छ । सम्बन्धित कर्मचारीलाई बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्न आयोगले निर्देशन दिएको छ । आयोगका अनुसार निर्वाचनमा २ लाख ४७ हजार कर्मचारी खटिनेछन् ।
यसैबीच मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको आयोगले जानकारी दिएको छ ।
कर्मचारीहरू सम्पूर्ण सामग्री लिएर बिहीबारसम्म मतदान केन्द्रमा पुगिसक्ने आयोगले जनाएको छ ।
आयोगले मतदान शान्तिपूर्ण बनाउन मंगलबार सुरक्षा बैठक राखेको थियो । बैठकले बिहीबारदेखि नै निजामती र प्रहरीको संयुक्त घुम्ती टोली परिचालन गर्ने निर्णय गरेको छ । मौन अवधिमा हुन सक्ने चलखेल रोक्न यो टोली परिचालन गर्न लागिएको आयोगको भनाई छ । निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउन आयोगले कुनै कसर बाँकी नराख्ने आयोगले दाबी गरेको छ । प्रहरी युनिट भएको स्थान र अन्य स्थानमा बिहीबारबाट विशेष योजना अघि सारेर सुरक्षा व्यवस्था मिलाइने आयोगले जनाएको छ । निर्वाचन सुरक्षामा २ लाख ९८ हजार म्यादीसहितका सुरक्षाकर्मी परिचालन हुँदै छन् ।