२०८३ साउन १२ मंगलबार

उम्मेदवार घरदैलोमा, मतदाता मेलापातमा

ई आर्थिक    आइतबार, कार्तिक २० २०७९
6.4K
Shares
उम्मेदवार घरदैलोमा, मतदाता मेलापातमा

भोजपुर : संघ र प्रदेशको निर्वाचन मिति नजिकिँदै गर्दा भोजपुुरका विभिन्न राजनीतिक दलले आआफ्ना चुनावी अभियानलाई ग्रामीण क्षेत्रहरूमा केन्द्रित गर्न थालेका छन्। कात्तिक १८ बाट चुनाव प्रचार–प्रसारका कार्यक्रम गराउन निर्वाचन आयोगको आचारसंहिता मिति सकिएसँगै चुनावी प्रचार–प्रसार सामग्री बोकेर दलहरू घरदैलोमा पुगेका हुन्।

उम्मेदवारहरू घरदैलोमा पुगिरहँदा ग्रामीण मतदाताहरू भने मेलापातमा व्यस्त छन्। अन्नबाली थन्क्याउने चटारोले ग्रामीण मतदाताहरूलाई भने यतिबेला धानबाली भित्र्याउन भ्याइनभ्याइ छ। चुनावी सरगर्मी सहरबजारदेखि गाउँबेंसीसम्म भए पनि अधिकांश मतदाताहरू मेलापातमा व्यस्त देखिएका हुन्।

‘चुनाव नेताहरू आए, हामी किसानलाई अन्नबाली कहिले थन्क्याउने भन्ने चटारो छ’, भोजपुर नगरपालिका बोखिमका स्थानीय दिलीप राईले भने, ‘नेता, कार्यकर्ताहरू घरदैलोमा हुन्छन्, हामी मेलापातमा’ धान काट्ने र बाली भित्र्याउने समयका कारण अधिकांश ग्रामीण क्षेत्रका मतदाता खेतीबारीमा व्यस्त छन्।

निर्वाचन आचारसंहिताका कारण पनि दल तथा उम्मेदवार अहिले दिनरात नभनी आन्तरिक भेला र घरदैलो अभियानमा मात्रै केन्द्रित छन्। अन्नबाली भित्र्याउने सिजन भएकाले पनि अधिकांश मतदाताहरू घरमा भन्दा मेलापातमा भेटिन्छन्। कतिपय उम्मेदवारहरूले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन्। जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्र पारेका उम्मेदवार अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन्।

भोजपुर नगरपालिका ५, का कविराज राईलाई मंसिर ४ को संघ र प्रदेशको चुनावमा कसलाई मत दिनेभन्दा पनि पाकेको धानबाली मौसम बिग्रनुभन्दा पहिल्यै थन्क्याउनेको चिन्ता छ। भने, ‘नेताहरू सबै जुनै जोगी आए कानै चिरेका जस्ता छन्, आफूलाई पानी र असिना पर्नुभन्दा अगाडि नै धान थन्क्याउनुको चिन्ता छ’ उनले भने, ‘जसले जिते पनि गाउँमा राम्रो दिगो विकास गर्ने होइनन्। कुर्सी हात पार्न होडबाजी गरेर अनेक नारा बोकेर चुनावका बेला मात्रै गाउँ आउँछन्।’

गाउँगाउँमा आयोजित चुनावी सभाहरूमा मतदाताहरू अपेक्षा गरे अनुसार नआएपछि उम्मेदवार, नेता, कार्यकर्ताहरू मतदातासँग भेटघाट गर्न र भोट माग्ने खेतबारीमै पुग्न थालेका छन्। अघिल्ला निर्वाचनको तुलनामा यसपटक उम्मेदवाहरू चुनावी प्रचार–प्रसारमा सबैभन्दा बढी सामाजिक सञ्जालको प्रयोग गरेका छन्। कतिपय त घरदैलोभन्दा पनि सामाजिक सञ्जालमा चुनावी प्रचार–प्रसारमा सक्रिय बनेका छन्।

यसपटक एमालेबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका संस्थापक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले जनताका अधुरा विकासे अडानलाई एजेन्डा बनाएर घरदैलो अभियान सुरु गरिएको बताए। आफ्नो ३ वर्षे मुख्य मन्त्रीकालमा सबैभन्दा बढी विकासे बजेट भोजपुरमा लगाएअनुसार नै विकासे कामले गति पाएको उनले दाबी गरे। भने, ‘मैले मुख्यमन्त्री हुँदा भोजपुरलाई विशेष ग्राहयतामा राखेर बजेटीकरण गरे। सोहीअनुरूप विकासे कामहरू पनि सम्पन्न भएका छन्, आगामी दिनमा पनि बाँकी अधुरा जनताका मागलाई सम्बोधन गर्ने किसिमका विकासे नीतिहरू ल्याउनेछु।’

यस्तै प्रतिनिधिसभाकै लागि गठबन्धनबाट उम्मेदवार बनेका सुदन राईले पनि जनताको भावनालाई सम्बोधन गर्ने किसिमको विकासे एजेन्डा लिएर चुनावी अभियानमा पुगेको बताए। उनले नयाँ सोच र दीर्घकालीन विकासे योजनाका लागि चुनावी मैदानमा होमिएको बताए। भने, ‘जनताको मनोभावना र अपेक्षा समेट्ने किसीमको काम गरेर देखाउनेछु, भोजपुरमा विकासे मार्गचित्र कोर्ने दृढसंकल्प गर्छु।’

भोजपुरमा सत्तारुढ गठबन्धन र नेकपा (एमाले) बीच कडा चुनावी प्रतिस्पर्धा हुँदैछ। नौवटै स्थानीय तहका हरेक वडा, हरेक गाउँबस्तीमा उम्मेदवार, नेता, कार्यकर्ताहरू चुनावी एजेन्डा र प्रचारबाजीसहित घरदैलोमा पुगेका छन्। योपटक भोजपुरबाट प्रतिनिधिसभाका लागि एमालेबाट शेरधन राई र गठबन्धनबाट सुदन राई, प्रदेशसभा क्षेत्र नं १ मा एमालेबाट हरिबहादुर राई र गठबन्धनबाट प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राई र प्रदेशसभा क्षेत्र नं २ मा एमालेबाट प्रेम कार्की र गठबन्धनबाट विनोद वान्तावाबीच कडा चुनावी टक्करको अपेक्षा गरिएको समाचार प्रदीपचन्द्र राईले अन्नपूर्ण पोष्टमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij