२०८३ साउन १० आइतबार

सुरुङ मार्ग निर्माण अन्तिम चरणमा

ई आर्थिक    आइतबार, कार्तिक १३ २०७९
4.8K
Shares
सुरुङ मार्ग निर्माण अन्तिम चरणमा

चरिकोट । उत्तर–दक्षिण कोरिडोरअन्तर्गत दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माण सुरु भएको सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावटा क्षमताको आयोजना सञ्चालन गरिरहेको एमभी दुगढ हाइड्रोपावर प्रालिले आफ्नै लगानीमा निर्माण सुरु गरेको यो सुरुङ मार्ग निर्माणको काम अन्तिम चरणमा पुगेको कम्पनीले जनाएको छ । एक हजार ७४ दशमलव १८ मिटर लामो र ६-५.५ डायमेन्सनको सुरुङमार्ग मध्ये आठ सय २५ मिटर ट्याक खोलिएको छ । आगामी पुस महिनासम्म सम्पन्न गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ ।

बिगु गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष मेमबहादुर तामाङका अनुसार यो सुरुङ मार्ग निर्माण भएपछि दोलखा हुँदै चीनसँग जोडिएको नाकासम्म सडक पुग्ने छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ‘हेडवक्र्सको दायाँतिरको भागमा यो सुरुङ निर्माण सुरु भएको हो । यो सुरुङ मार्ग बनेपछि चीनको नाका जोड्न सबैभन्दा छोटो मार्ग हुने छ । सुरुङ मार्ग बनेपछि थप १२ किलोमिटर सडक बनाउँदा चिनियाँ सिमाना ङ्याङ्लुङ जोडिँदा नाका खोल्नसमेत सहज हुने छ । तामाकोसी आयोजनालाई असर नपर्ने गरी यो सुरुङ मार्ग बनाउन लागिएको हो ।

सडक सञ्जाल नजोडिँदा बिगु गाउँपालिकाका बासिन्दा भए पनि लप्चीवासी अर्कै मुलुकका नागरिक झै छन् । लामाबगरबाट लुम्नाङ एक दिन र लम्ची दुई दिनको पैदल यात्रापछि मुस्किलले पुगिन्छ । वर्षा लागेपछि त आवतजावत नै पूरा बन्द हुन्छ । सुरुङ मार्ग बनेर ३२ किलोमिटर सडक बनेपछि लप्सीवासीको कायापलट नै हुन्छ ।

सडक नहुँदा यहाँ पाँच वटा हाइड्रोपावर बन्न सकेका छैनन् । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटोसमेत बन्द हुँदा चौँरी र भेडा बाख्रा समेत यही सुरुङ मार्गबाट हिँड्न मिल्ने गरी निर्माण हुन थालेको छ ।

सुरुङ मार्ग बनेपछि सबैभन्दा पुरानो लामा बगर नाकासमेत सञ्चालनमा ल्याउन सकिन्छ । तातोपानी नाका सडकसँग जोड्नु अघि काठमाडौँ र लासाको मुख्य व्यापारिक नाका यही लामा बगर हो । लामाबगरमा अहिलेसम्म पुरानो भन्सार कार्यालय भए तापनि कारोबार भने छैन । भारतको भिठ्ठामोडदेखि लामाबगर सम्मको सडक पूर्ण रूपमा सञ्चालन भए तापनि तिब्बत सिमानासम्मको सडक यही कठिन भीरका कारण खुल्न नसक्दा जोडिएको छैन ।

लामाबगर भन्दा माथि लम्ची खोला र जुम खोलामा निजी क्षेत्रको लगानीमा तीन सय मेगावाटभन्दा बढीका करिब आधा दर्जन जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहे तापनि कठिन मानिएको सुरुङ मार्गको ढिलाइले रोकिएका छन् । निजी क्षेत्रको एमभी दुगड ग्रुपको प्रवर्द्धनको १६० मेगावाटको नासा हाइड्रोपावर प्रालिले एक वर्षअघि नै तीन वटा एक्स्काभेटर हेलिकोप्टरमार्फत सडक निर्माणकै लागि लुम्नाङसम्म पुर्‍याएको छ । तर तेललगायतका सामान ढुवानी गर्न कठिन हुँदा सडक ट्र्याकको सामान्य कामबाहेक केही हुन नसकेको बताइन्छ ।

चीन, नेपाल र भारत जोड्ने त्रिदेशीय यो राजमार्ग निर्माणपछि भिठ्ठामोढ– चिनियाँ सिमाना ङ्याङ्लुङ करिब २३५ किलोमिटर यात्रा गर्न सकिने समाचार बाबुराम शर्माले गोरखापत्रमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij