२०८३ साउन ९ शनिबार

नेपाल–भारत मैत्री पशुपति धर्मशालाबाट बतासलाई एक साता भित्र हटाइने, कोषले दियो ‘अल्टिमेटम’

ई आर्थिक    शुक्रबार, जेष्ठ २७ २०७९
3.6K
Shares
नेपाल–भारत मैत्री पशुपति धर्मशालाबाट बतासलाई एक साता भित्र हटाइने, कोषले दियो ‘अल्टिमेटम’

बतासको कारण कोषलाई पर्न गएको हानी–नोक्सानी पनि तिराइने

ई–आर्थिक, काठमाडौं । नेपाल–भारत मैत्री पशुपति धर्मशाला भवनबाट बतास समूहलाई हटाउने तयारी भएको छ । बतास समूहलाई धर्मशाला भवन छाड्न पशुपति क्षेत्र विकास कोषले एक साताको ‘अल्टिमेटम’ दिएको छ । कोषका सदस्यसचिव मिलनकुमार थापाद्वारा बतास समूहअर्न्तगतको होटल आनन्दलाई बुधबार पठाइएको पत्रमा जेठ मसान्तभित्र धर्मशाला खाली गरेर साँचो बुझाउन भनिएको छ ।

होटल आनन्दलाई ०७६ जेठ १ गते करार सम्झौता गरी कोषले धर्मशाला भाडामा दिएको थियो । तर, करार सम्झौताहरुको गम्भीर उल्लंघन भएको जनाउँदै ०७८ चैत १४ गते बतास समूहसँग सम्झौता रद्द भइसकेको छ । कोषले सम्झौता रद्द गरेपछि बतास समूह अदालत पुगेको थियो ।

काठमाडौं जिल्ला अदालतले गत बुधबार बतास समूहलाई धर्मशालामा होटल सञ्चालन गर्न दिन यसअघि जारी गरिएको अन्तरकालीन आदेश बदर गरेसँगै करार रद्द गर्ने कोषको निर्णय कार्यान्वयनका लागि बाटो खुलेको थियो ।

कोषले बतास समूहलाई जेठ मसान्तसम्मको बाँकी बहाललगायतका भुक्तानी गर्नुपर्ने रकम तिरेर हिसाब फरफारक गराउनुका साथै सम्झौताविपरीत भएका कामका कारण कोषलाई पर्न गएको हानी–नोक्सानी पनि तिर्न भनेको छ ।

पशुपतिनाथको दर्शन गर्न आउनेहरुलाई लक्षित गर्दै भारत सरकारको करिब ४० करोड रुपैयाँ सहयोगमा तिलगंगामा निर्मित ‘नेपाल–भारत मैत्री पशुपति धर्मशाला’ सञ्चालन ठेक्का बतास समूहलाई कानुन छलेर दिइएको आशंकामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ठेक्का प्रक्रिया छानबिनका लागि समिति गठन गरेको थियो ।

धर्मशाला भाडामा लगाउँदा सम्झौता नियम र प्रचलित कानुन उल्लंघन भएको भन्दै मन्त्रालयले पुस २७ मा पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो ।

समितिले २०७६ वैशाखमा बतास समूहसँग गरिएको धर्मशाला सन्चालनसम्बन्धी ठेक्का सम्झौता कानुनविपरीत भएको ठहर गरेको थियो । छानबिन प्रतिवेदनले १९ रोपनी जग्गामा फैलिएको धर्मशाला लिजमा दिँदा बतास समूहलाई कानुन उल्लंघन गरेर सम्झौता गरेको देखाउँदै कोष ऐन, २०४४ को दफा ८ बमोजिम गठित सञ्चालक परिषद्को स्वीकृतिबेगर नै नेपाल-भारत मैत्री ‘पशुपति धर्मशाला’ भाडामा दिने सम्झौता कानुनसम्मत नदेखिएको जनाएको थियो ।

समितिले धर्मशाला निर्माण गर्दा र सम्झौता भएबमोजिम बेडको संख्या र दररेट फरक पारेको, कोषलाई बुझाउनु पर्ने करिब एक वर्षको भाडा नबुझाएको, धर्मशालामा विभिन्न अफिसहरु राखेको, कोषको स्वीकृतिबेगर धर्मशालाको भित्री भौतिक संरचना बाहिरी खाली भागमा विभिन्न सरञ्चनाहरु निर्माण गर्नेजस्ता कार्यहरु गरी बतास समूहले सम्झौताको उल्लंघन गरेको औंल्याएको थियो ।

छानबिन समितिले धर्मशाला अवलोकनमा जाँदा बतास समूहले कम्तीमा ९ वटा अन्य व्यवसाय पनि सञ्चालन गरेको जनाउँदै धर्मशाला भाडामा लगाउने सम्झौता रद्द गर्नुपर्ने सिफारिस गरेको थियो ।

बतास समूहले संझौता बमोजिम काम नगरेको भन्दै यो विषय विवादित बन्दै आएको छ । सरकारले समेत विशेष चासो राखेको यो विषयलाई लिएर पर्यटन मन्त्रीले प्रेम आलेले धर्मशालाको अनुगमन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij