२०८३ साउन १० आइतबार

२८४ मेगावाट नेपाली विद्युत् भारतीय बजारमा

ई आर्थिक    बिहिबार, जेष्ठ २६ २०७९
6.6K
Shares
२८४ मेगावाट नेपाली विद्युत् भारतीय बजारमा

५ आयोजनाबाट आज ७ करोड १५ लाख रूपैयाँ बराबरको विद्युत् बिक्री हुँदै

काठमाडौँ : नेपालका विभिन्न ५ वटा जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् भारतीय बजारमा बिक्न थालेको छ । बुधबार मध्यरातिबाट मध्यमर्स्याङ्दी जलविद्युत् आयोजना पनि थपिएसँगै नेपालले कुल ६८०० मेगावाट आवर (करिब २ सय ८४ मेगावाट) विद्युत् भारत बेच्न थालेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । त्रिशूली, देवीघाट, कालीगण्डकी र मर्स्याङ्दी जलविद्युत् आयोजनाले यसअघि नै भारतमा विद्युत् बेच्न थालिसकेका थिए ।

नेपालले गत वर्ष कात्तिक १७ मा पहिलोपटक इन्डियन इनर्जी एक्स्चेन्ज (आईईएक्स) मा विद्युत् बेच्ने अनुमति पाएको थियो । आईईएक्समा विद्युत् बेच्न अनुमति पाएसँगै २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट गरी कुल ३९ मेगावाट विद्युत् गत वर्ष नै भारत जान थालिसकेको थियो । तर, अरू आयोजनाका लागि भने भारतले अनुमति दिएको थिएन ।

गत फागुन दोस्रो साता काठमाडौंमा बसेको नेपाल भारत ऊर्जा सचिवस्तरीय संयुक्त संयन्त्र ‘जोइन्ट स्टेयरिङ कमिटी’ (जेएससी) को बैठकपछि भारत नेपालबाट थप विद्युत् लैजान सहमत भएको थियो । सहमतिमा जसअनुसार नेपालले १४४ मेगावाट क्षमताको कालीगण्डकी, ६९ मेगावाटको मर्स्याङ्दी, ७० मेगावाटको मध्यमर्स्याङ्दी र ५२ मेगावाटको लिखु–४ सहित कुल ६ वटा आयोजनाबाट ३६४ मेगावाट विद्युत् भारतले किन्ने उल्लेख छ । लिखु–४ बाट उत्पादित विद्युत् भने अझै भारत गइसकेको छैन ।

आईईएक्समा बोलकबोलमार्फत विद्युत् खरिद–बिक्री हुन्छ । त्यस्तो बोलकबोल प्रक्रिया आईईएक्समा हरेक दिन चल्छ । बोलकबोलअनुसार हरेक १५ मिनेटका लागि फरक–फरक दर हुने र दिनमा ९६ वटा स्लटमा विद्युत् बिक्री हुने गरेको छ । नेपालले आज (बिहीबार) का लागि प्रतियुनिट औसत भारु ६ रुपैयाँ ८८ पैसा (नेरु ११) मा विद्युत् बेचिएको प्राधिकरण प्रवक्ता सुरेश भट्टराईले जानकारी दिए । ‘बिहीबारका लागि औसत भारु ६ रुपैयाँ ८८ पैसामा विद्युत् बिक्री भयो,’ उनले भने, ‘त्यसमा प्राविधिक चुहावट, प्रसारण लाइनको शुल्क, सेवा शुल्कलगायत कटौती गर्दा प्रतियुनिट भारु ६ रुपैयाँ ५२ पैसासम्म प्राधिकरणको खातामा आउँछ ।’

भट्टराईको भनाइलाई आधार मान्ने हो भने नेपालले बिहीबार करिब ७ करोड १५ लाख रुपैयाँ बराबरको विद्युत् भारतलाई बेच्नेछ । करिडोर चार्ज (ह्विलिङ चार्ज) आईईएक्सलाई बुझाउनुपर्ने र मध्यस्थकर्ता कम्पनी (नोडल एजेन्सी) लाई तिर्नुपर्ने शुल्कसमेत घटाउँदा नेपालले सो रकम बराबरको विद्युत् बेचेको हो । नेपालले अहिले ४ सय केभी ढल्केवर–

मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट विद्युत् भारत बेचिरहेको छ । ढल्केबर–मुजफ्फरपुर लाइनको ह्विलिङ चार्ज नेपाल स्वामित्वको पावर ट्रान्समिसन कम्पनी लिमिटेड (पीटीसीएनएल) र भारत स्वामित्वको क्रसबोर्डर पावर ट्रान्समिसन कम्पनी लिमिटेडसँग छ । कुनै एक बिन्दुबाट बेचिएको विद्युत् जुन बिन्दुसम्म पुगेर खपत हुन्छ, त्यहाँसम्म पुग्ने संरचनाको ह्विलिङ चार्ज तिर्नुपर्छ । त्यस्तै, प्राधिकरण र आईईएक्सबीच मध्यस्थकर्ताको भूमिका निर्वाह गर्ने विद्युत् व्यापार निगम लिमिटेडलाई पनि विद्युत् बेचेबापत केही शुल्क तिर्नुपर्छ ।

नेपाल र भारतबीच १३२/६६ केभी क्षमताका साना प्रसारण लाइनहरू बनेका भए पनि ती लाइनबाट नेपालले विद्युत् किन्न मात्रै पाउँछ, बेच्न पाउँदैन । राजविराज–कटैया, वीरगन्ज–रक्सौल, गण्डक–रामनगर, महेन्द्रनगर–टनकपुरलगायत प्रसारण लाइनबाट पनि भारतमा विद्युत् बेच्न पाउनुपर्ने विषय नेपालले बारम्बार उठाउने गरेको छ । भारतले भने यी प्रसारण लाइनबाट विद्युत् लिने गरेको छैन ।

तेस्रो मुलुको लगानी रहेका आयोजनाको विद्युत् नकिन्ने भारतीय नीतिले ४५६ मेगावाटको माथिल्लो तामाकोसी र ३० मेगावाटको चमेलिया जलविद्युत् आयोजनाको विद्युत् भारतले किनिरहेको छैन । भारतले सन् २०१८ मा जारी गरेको अन्तरदेशीय विद्युत व्यापारसम्बन्धी निर्देशिकामा तेस्रो मुलुकको लगानी रहेका उत्पादन, प्रसारण र वितरणका कुनै पनि आयोजनाबाट विद्युत् नकिन्ने उल्लेख छ । सोही कारण नेपालले माथिल्लो तामाकोसी र चमेलियाबाट उत्पादित विद्युत् भारतलाई बेच्न नपाएको हो ।

केही समयअघि भारतबाट विद्युत् नपाएर औद्योगिक ग्राहकको लाइन काटेको प्राधिकरणले अहिले फेरि भारतलाई विद्युत् बेच्न थालेको हो । वर्षायाममा नेपालको विद्युत् खपत नभएर खेर जाने अवस्था भए पनि हिउँदमा भने भारतबाटै आयात गर्नुपर्ने अवस्था रहेको समाचार आजको कान्तिपुरले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij