स्थानीय तह निर्वाचन परिणाम
ई–आर्थिक, काठमाडौं । देशभर स्थानीय तह निर्वाचनको मतगणनाको पछिल्लो मत परिणाम सार्वजानिक भएको छ । गणाना जारी भएको शनिबार मध्यरातिसम्ममा मत परिणाम अनुसार १४ वटा स्थानीय तहमा एमाले १ स्थानमा जितले अगाडी बढेको छ ।
अहिलेसम्म निर्विरोध भएका समेत गरी नेकपा एमालेले ६, नेपाली कांग्रेसले ५, नेकपा एकीकृत समाजवादीले २ र नेकपा माओवादी केन्द्रले १ पालिकाको प्रमुख जितेका छन् ।
माओवादी केन्द्रले डोल्पाको जगदुल्ला गाउँपालिका एमाले, कांग्रेस, एकीकृत समाजवादीसहितको गठबन्धनलाई पराजित गर्दै अध्यक्ष र उपाध्यक्षसहित बहुमत सिट जितेको छ । अहिलेसम्म निर्वाचित भएकामध्ये मनाङको नासोँ गाउँपालिकामा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल थियो । त्यहाँ गठबन्धनबाट कांग्रेसका उम्मेदवार धनबहादुर गुरुङ निर्वाचित भएका छन् भने उपाध्यक्षमा माओवादी केन्द्रका वेदबहादुर गुरुङ निर्वाचित भएका छन् ।
त्यसबाहेक अन्यमा भने दलहरु एक्ला(एक्लै प्रतिस्पर्धामा थिए। कांग्रेस गुल्मीको रेसुङ्गा नगरपालिकामा मेयर, उपमेयर र बहुसंख्यक वडाध्यक्ष समेत जितेको छ । २०७४ सालमा भएको स्थानीय तह निर्वाचन सदरमुकाम रहेको रेसुङा नगरपालिकामा एमालेले जीत हासिल गरेको थियो ।
निर्विरोध निर्वाचित भएका तीन स्थानीय तहलाई अलग गर्ने हो भने अहिलेसम्म ११ स्थानीय तहको अन्तिम परिणाम आएको छ । त्यसमध्ये नेकपा एमालेले ५, कांग्रेस ५ र माओवादी केन्द्रले १ स्थानमा जितेको छ ।
शनिबार राति १२ बजेसम्मको परिणामअनुसार कांग्रेसले २६० स्थानमा अग्रता लिएको छ भने एमालेले १६७ स्थानमा अग्रता लिएको छ । त्यस्तै, नेकपा माओवादी केन्द्रले १०३, एकीकृत समाजवादीले १० र जसपाले २३ स्थानमा अग्रता बनाएका छन् ।