२०८३ साउन १२ मंगलबार

काठमाडौं ल्याइयो मेलम्चीको पानी, खानेपानीमन्त्री चौधरीले सुरु गरे वितरण

ई आर्थिक    आइतबार, बैशाख ११ २०७९
5.5K
Shares
काठमाडौं ल्याइयो मेलम्चीको पानी, खानेपानीमन्त्री चौधरीले सुरु गरे वितरण

ई–आर्थिक, काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको पानी आइतबारबाट काठमाडौं उपत्यकामा वितरण सुरु गरिएको छ । खानेपानीमन्त्री उमाकान्त चौधरीले आइतबार बिहान नयाँबानेश्वरस्थित पानी वितरण केन्द्रबाट पानीको निकास खुला गरेसँगै पानी उपभोक्ताको धारामा पुगेको थियो ।

गत वर्ष असार १ र १७ गतेको बाढीले मेलम्ची खानेपानी आयोजनालाई क्षतिग्रस्त बनाएपछि पानी आपूर्ति रोकिएको थियो । सफाइ र मर्मतपछि २९ चैतमा काठमाडौंतर्फ पानी पुनः पथान्तरण गरिएकामा आजबाट पानी वितरण थालिएको हो ।

अव मीनभवनसहित बानेश्वर, थापाथली, महाँकाल (चावहिल), अनामनगरलगायत स्थानमा पानी वितरण हुनेछ । यसैगरी कीर्तिपुर, खुमलटार, भक्तपुरको बोडे, स्वयम्भू, बालाजु, नयाँ बजार, कालीमाटी, महाराजगञ्ज लगायतका क्षेत्रमा आइतवारदेखि नै पानी वितरण शुरू गरिएको छ ।

सरकारले चैत मसान्तभित्र उपत्यकावासीलाई मेलम्चीको खानेपानी वितरण गर्ने घोषणा गरेको थियो । घोषणाको १० दिनपछि केयूकेएलले पानी वितरण गर्न लागेको हो । निर्माणको दशकौंपछि २०७७ चैत १५ गतेदेखि केयूकेएलले उपत्यकामा मेलम्चीको पानी वितरण शुरू गरेको थियो । त्यसबेला भने परीक्षणको रूपमा खानेपानी ल्याएर वितरण शुरू गरिएको थियो ।

अस्थायी संरचनाबाट काठमाडौंको सुन्दरीजलमा पानी ल्याइसकेको र शुक्रवार नै २७ किलोमिटर लामो सुरुङ भरिएकाले आइतवारदेखि पानी वितरण गर्न सकिएको मेलम्ची खानेपानी विकास समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।

काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर पानी वितरण हुनेछ । यो आयोजनामा रू. ३० अर्ब लगानी भइसकेको छ । यसका अतिरिक्त असार र साउनमा आएको बाढी, पहिरोका कारण ३६ करोड रुपैयाँ बराबरको क्षति भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij